ताप्लेजुङ । ताप्लेजुङको किसानले लगाएको सुन्तलाको उत्पादन पुसको पहिलो सातामा बजारमा गइसक्नुपर्नेमा रोगको कारण अझै हरियो रहेको छ ।
फुङलिङ नगरपालिका–३ मेदिबुङका कौशिला सिटौलाको बगानको सुन्तला एक दशक अघिसम्म मंसिर अन्तिम सातासम्ममा रित्तिइसक्नेमा अहिले बोटमा हरियो नै छ ।
किराले खाएर बिग्रिएको मात्रै रातो भएको र हरियै रहेको सिटौलाले बताउनुभयो । विगतका वर्षजस्तो भए यति बेला पर्याप्त मात्रामा बजारमा सुन्तला निस्कनुपर्नेमा यो वर्ष अहिलेसम्म सुन्तला निस्किएको छैन ।
किसानका अनुसार कम फलेको छ भने फलेको दाना पनि पाकेको छैन । त्यसमाथि स्वाद पनि गुलियो नरहेको मेदिबुङकै अर्का किसान चन्द्रप्रसाद बरालले बताउनुभयो । उहाँका अनुसार पाक्ने क्रम प्रत्येक वर्ष पछि सर्दै गएको छ ।
सामान्यतः यस क्षेत्रमा कात्तिकदेखि नै खानयोग्य हुने सुन्तला मंसिर पहिलो साता पाकेर बजारमा पुग्थ्यो । यो वर्ष सुन्तला किन्नेहरु बारीमा आइसकेपनि बिक्री गर्न योग्य भएको छैन । मौसम परिवर्तनका कारण ढिलो पाकेको हुनसक्ने किसानको भनाइ छ ।
नयाँ लगाएका बोटहरुले समेत १–२ वर्ष उत्पादन दिएर बोटै मर्न थालेका छन् । सुन्तला बोटैमा राखे चैत महिनासम्म बिग्रदैन । समयमै नपाक्दा किसानलाई बिक्रीको समस्या छ । कोल्डस्टोर नभएकाले टिपेर गोदाम गर्न सक्ने अवस्था छैन ।
ताप्लेजुङमा सुन्तला ढिलो पाक्ने मात्र समस्या होइन, फलेका दाना पनि बोटबाट भटाभट झर्न थालेको छ । पाक्ने बेला भएका सुन्तला भटाभट झर्न थालेपछि किसानहरु चिन्तित छन् । किराका कारण सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत फलफूलमा संक्रमण फैलिएको छ ।