विराटनगर । कोभिड १९ को कारण बन्द भएको विराटनगरका विद्यालयहरूमा बिहीबारदेखि पठनपाठन सुचारू भएको छ । गत चैतबाट बन्द भएका अधिकांश विद्यालय ९ महिनापछि सञ्चालनमा आएका हुन् । केही विद्यालय आइतबारदेखि पठनपाठन सुचारू गर्ने तयारीमा छन् ।
विराटनगरमा १ सय ५ वटा संस्थागत, ५६ सामुदायिक र २० वटा धार्मिक पराम्परगात विद्यालयहरू रहेका छन् । २१ मंसिरमा विराटनगर महानगरपालिको नगर शिक्षा समितिको निर्णय अनुसार पुस २ गतेदेखि विद्यालय सञ्चालन गर्ने अनुमति दिएको थियो ।
विद्यालय खुलेपनि पहिलो दिन विद्यार्थी उपस्थित न्युन रहेको विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले बताउनुभयो । ‘विद्यालयहरू खुल्ने भएपछि अनुगमनमा गएका थियौं,’ हाम्रोमतसँग उहाँले भन्नुभयो, ‘पहिलो दिन अधिकाश विद्यालय खुलेपनि विद्यार्थीको संख्या न्यून रहेको पाइयो ।’ कोरोना महामारीको त्रास कायम रहेकाले कम संख्यामा विद्यार्थीको उपस्थित हुनसक्ने बताइएको छ ।
सुरक्षा मापदण्ड तयार गरि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा शाखा प्रमुख खतिवडाले बताउनुभयो । केही स्कूलमा एउटा बेञ्चमा तीन जनासम्म विद्यार्थी राखेको भेटिएपछि अनुगमन टोलीले त्यसो नगर्न र २ जना मात्र राख्न निर्देशन दिएको छ । ‘सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छौं, एउटा बेन्चमा दुई जना मात्र विद्यार्थी राखेर पठानपठान गर्न भनेका छौं’ खतिवडाले भन्नुभयो ।
विद्यालय सञ्चालन गर्दा आलोपालो माध्यमबाट सञ्चालन गर्नुपर्ने, विद्यालयभित्रै आइसोलेसनको प्रवन्ध गर्नुपर्ने, नियमितरुपमा विद्यालय परिसर र कक्षा कोठाहरु निर्मलीकरण गर्नुपर्ने, दैनिक विद्यार्थीहरुको ज्वरो मापन गर्नुपर्ने, भौतिक दुरी कायम गरेर अध्यापन गराउनुपर्ने जस्ता कार्यढाँचा र मापदण्डहरु कडाईपूर्वक पालना गराइने महानगरले जनाएको छ । पहिलो दिन विद्यार्थी कम उपस्थित भएपनि क्रमशः विद्यार्थी बढ्ने प्याब्सनका केन्द्रीय अध्यक्ष एवं एभरेष्ट स्कूलका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । ‘महामारीको रूपमा फैलिएको कारण संक्रमणले गर्दा ९ महिना बन्द भएको विद्यालयहरू खुलेका छन्,’ उहाँले भन्नुभयो, ‘संचालनमा आएका विद्यालयहरूले पूर्ण रूपमा स्वास्थ्य मापदण्डलाई ख्यालमा राखेर पठनपाठन सुचारू गरिएको छ ।’
विद्यार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्ने र सहजरुपमा हातधुने व्यवस्था पनि विद्यालयहरुले मिलाएका छन् । विराटनगरस्थित आदर्श माविले स्वास्थ्य मापदण्डलाई पालना गर्दै विद्यार्थी संख्याका आधारमा फरक–फरक दिनमा फरक कक्षाहरु सञ्चालन गरेको छ । आइतबार, मंलबार र बिहीबार ९ कक्षा र १० कक्षाको पठनपाठन हुने गरेको आदर्श स्कूलका प्रचार्य तुलसीप्रसाद दुलालले जानकारी दिनुभयो । ६, ७ र ८ कक्षा सोमबार, बुधबार र शुक्रबार हुनेछ । ६ बजेदेखि १० बजेसम्म प्राविधिक कक्षाहरु हुनेछन् ।
आदर्शमा डिप्लोमा, सभिल इन्जियिनर र आइटीको कक्षाहरू संचालन हुने गरेको छ । ५ कक्षाभन्दा मुनिका विद्यार्थीलाई भने जाडोपछि मात्र कक्षामा बोलाउने आदर्शका प्राचार्य दुलालले बताउनुभयो । ‘धेरै विद्यार्थी भएको कारणले स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै विद्यार्थीको चाप बढी हुन नदिन विद्यार्थी संख्याका आधारमा फरक–फरक दिनमा फरक कक्षाहरु सञ्चालन गरेको छौं’ उहाँले भन्नुभयो ।
नौ महिनापछि सञ्चालनमा आउने भएपछि अभिभावक र विद्यार्थीहरुसमेत उत्साहित देखिएका छन् । विराटनगरस्थित एभरेस्ट बोर्डिङ स्कूलकी छात्रा परिधि पोखरेलले ९ महिनापछि विद्यालय आउन पाउँदा खुसी लागेको बताउनुभयो । ‘लामो दिनपछि विद्यालयमा आएर पठनपठान गर्न पाउँदा निक्कै खुसी लागेको छ,’ उहाँले भन्नुभयो, ‘साथीहरूसँग स्कूलमा आएर पढन पाउँदा छुट्टै आन्नद आउने गर्दछ ।’