प्रधानमन्त्रीज्यू, तपाईंलाई आफ्नैबाट खतरा

विभिन्न आरोह अवरोह र संघर्ष पार गर्दै प्रतिकूल स्वास्थ्यका बाबजुद पार्टी अध्यक्ष हुँदै तपाईको सरकारको दोस्रो प्रधानमन्त्रीकालको तेस्रो वर्ष प्रवेश गरेको छ । प्रतिपक्ष, पार्टी विपक्ष र कतिपय पार्टी अतिपक्षका कारणले राष्ट्रको रूपान्तरणको दिशामा लक्षित तपाईं प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानलाई विचलित बनाउन चौतर्फी प्रयास भएको विषय जगजाहेर छ । अनेकौँ आरोप र अक्षमताको पगरी गुथाउने प्रयत्न भइरहेकै छ । मैले बुझेको, चिनेको र जानेको अथाह ज्ञान, तीक्ष्ण बुद्धि र विलक्षणयुक्त राष्ट्रप्रतिको तपाईंको निष्ठा, अठोट र इमानमा आजका मितिसम्म म पूर्ण रूपमा विश्वस्त छु । तथापि, तपाईंको लक्ष्यप्राप्तिको दिशामा आउनसक्ने थप व्यवधानको न्यूनीकरणका लागि केही सुझाव दिन चाहन्छु ।

पहिलो, विपक्षीको धर्म र कर्म सरकारले गरेका वा गर्न सक्ने नराम्रा कामलाई ठूलो बनाउँदै, त्यसको विरोध गर्दै सरकारको विपक्ष र आफ्नो पक्षमा जनमतको सिर्जना गर्नु नै हो । उसको काम सरकारका राम्रा कामको प्रशंसा र प्रचार प्रसार गर्ने हुँदै होइन । विपक्षीले हाम्रा राम्रा कामको पनि उल्टो प्रचार ग¥यो भन्ने आशयका साथ प्रधानमन्त्रीबाट आउने अभिव्यक्तिले जनमानसमा प्रतिपक्ष चाहिँ सबल र सत्तापक्ष कमजोर हुँदैछ भन्ने मनोवैज्ञानिक प्रभाव पर्छ । आफूले गरेका राम्रा काम आमनागरिकसम्म पु¥याउन केले रोकेको छ, सरकारलाई ? आममान्यता नै छ, सरकारी खर्चमा चल्ने अर्बौ बजेट भएको सञ्चार मन्त्रालय र सञ्चार संयन्त्रको प्रयोग गरी राम्रा कामको प्रचार र जनजागरण गर्न पो सक्नुपर्छ त ! विपक्षीले उसको संसदीय धर्मअनुसार नै सरकारलाई अनेक आरोपका वरिपरि घुमाउन खोज्छ । सरकारले यस्तो रणनीति बुझ्न सक्नुपर्छ र यस्तो रणनीतिलाई असफल बनाउन सरकार प्रतिक्रियात्मक भन्दा पनि सक्रियात्मक ढंगले अघि बढ्दा उपयुक्त होला । प्रधानमन्त्रीज्यूले दाबी गरेजस्तै राम्रा र दीर्घकालीन महत्त्वका काम भएका छन् भने यसो गर्दा सबैभन्दा बढी फाइदा सरकारलाई हुन्छ ।

दोस्रो, प्रधानमन्त्रीज्यू, तपाईंले ‘रियाक्टिभ’ हुने समयमा पर्याप्त ‘रियाक्टिभनेस’को अभ्यास गर्नुभयो, पार्टी र सरकारको प्रतिपक्षमा रहेर होस् वा तत्कालीन माओवादीको कटु आलोचक बनेर । यसो गरिरहँदा तपाईंको आफ्नै पहिचान बनेको थियो । तपाईंको जीवनशैली, बोलीचाली आदि पनि त्यसैबमोजिम परिवर्तित भएका थिए । यो समय तपाईंले ‘काग कराउँदै गर्छ, पिना सुक्दैगर्छ’, ‘खै के कराउँदै गर्छ, हात्ती लम्किँदैगर्छ’ भन्ने भनाइअनुसार आफ्नो लक्ष्यमा अर्जुनदृष्टि लगाउने हो । खुद्रा विषयमा भुलाएर विपक्षीले तपाईंको मूल यात्रालाई धिमा गराउने रणनीति लिएको अनुभूति गरेको छु मैले । अहिले तपाईं क्रियाशीलता देखाउने ठाउँमा हुनुहुन्छ । यो यहाँका लागि मात्र होइन, देश र जनताकै लागि सुनौलो भविष्य कोर्ने अवसर हो ।

तेस्रो, स्थापित मान्यताअनुसार पत्रकारको काम समाचार र अन्य समसामयिक विषयमा सूचना, लेख र यस्तै सामग्री उत्पादन गर्ने हो । यसका लागि उनीहरूले अनेकन विधि प्रयोग गर्छन् । उत्पादित सामग्री भ्रामक छन् भने सञ्चार मन्त्रालयले खण्डन गर्छ । गैरकानुनी छ भने विधिले कारबाही गर्न सकिन्छ । तपाईंले न उनीहरूसँग मुख लाग्ने हो, समाचारको खण्डन गर्ने हो, न त उनीहरूलाई सिकाउने नै हो । पत्रकारको प्रयत्न पनि तपाईंलाई भुलाउनमै केन्द्रित भएको हुनसक्छ । पाएदेखि प्रधानमन्त्रीलाई भुलाउन कसले चाहँदैन होला र ? पत्रकार सम्मेलनमा, अन्तर्वार्तामा पत्रकारसँगका अन्य भेटमा ‘प्रोएक्टिभ’ ढंगले प्रस्तुत हुनुहोस् । तर, पत्रकारसँग गुनासो गर्नु, मेरा राम्रा कुरा प्रचार गरेनौ भन्नु, तपाईं, हजुर भनेर सम्बोधन गरेनौ भन्नु जस्ता कुरा जनमानसमा केपी ओली कायल भएर पत्रकारसँग रोईकराई गर्न पुगेछ भन्ने अनुभूति दिनु हो, जो तपाईंको हितमा छँदैछैन । राम्रा योजना, काम र विचारको प्रवाह गरेमा सो नछापेपछि परिन्छ, त्यसलाईं बङ्ग्याएर छापे जनमानसमा आफ्नो विश्वसनीयता घट्छ भन्ने पो बनाउनुपर्छ त पत्रकारलाई आफ्ना कर्मबाट । हामीले लडेर ल्याएको प्रजातन्त्र ‘हनुमान पत्रकारिता’का लागि अवश्यै होइन ।

चौथो, केपी ओली बिरामी हुन सक्नुहुन्छ तर देश बिरामी पर्नुहुँदैन । केपी ओलीले नजानेका, कल्पना गर्न नसक्ने वा नसकेका धेरै पाटा हुन सक्छन् । तर, देशले नजानेका र कल्पना गर्न नसक्ने हुनुहुँदैन । केपी ओली अपूर्ण हुन सक्नुहुन्छ, देश अपूर्ण हुनुहुँदैन । प्रधानमन्त्री भनेको सिङ्गो सरकार हो, देशको महारथी हो । आफ्नै वरिपरि परिक्रमा गर्ने, प्रस्ताव राख्न आउने, अनेक ढंगले नजिक हुन आउने वा आएका व्यक्ति पनि खराब हुनसक्छन् र पार्टी पंक्तिभित्र वा बाहिर पनि सयौं इमानदार, क्षमतावान् मान्छे छन् भन्ने हेक्का राखी प्रधानमन्त्री कार्यालयका कमजोरी हटाउँदै यसलाई पूर्ण र इमानी बनाउनुपर्छ । वर्तमान सेटको पुनःमूल्याङ्कन गर्नुपर्ने हुनसक्छ । जोसुकै सत्तामा आउँदा पनि विभिन्न दलाल र कमिसनखोरको प्रलोभनमा परेर पार्टी कार्यकर्ता परिचालित भई मन्त्री, प्रधानमन्त्री र यिनका वरिपरिका इमानी मानिसलाई गलत काममा प्रेरित गर्ने गरेको हिजो पनि सुनिन्थ्यो, आज पनि त्यो विद्यमान छ । उनीहरूले प्रधानमन्त्री र मन्त्रीकै खास मान्छेलाई समात्ने गरेका छन् । प्रधानमन्त्रीसँग नजिक मानिएका जिल्लादेखि केन्द्रसम्मकै पार्टी कार्यकर्ता र आफन्तको प्रयोग अहिले पनि भइरहेको यथार्थलाई स्वीकार गरी तपाईंले सबैभन्दा बढी आफैँसँग वा आफ्नासँग नजिक भएकै व्यक्तिसँग खतरा छ भन्ने कुरामा विचार र्पुयाउनु अवाश्यक छ ।

पाँचौँ, तपाईं नेकपाको प्रतिनिधि हो । यो बहुमत ल्याउन नेकपाका सानादेखि ठूला, यो गुटदेखि त्यो गुटसम्म, पूर्वएमालेदेखि पूर्वमाओवादीसम्मको ठूलो योगदान छ । सबैले अपनत्व त खोज्छन् नै । कम्तीमा अपमानको अनुभूति चाहँदैनन् । यसमा सचेत र चनाखो हुनु जरुरी छ । नेकपाभित्र देखिएका धेरै असन्तुष्टिको कारण तपाईं नभएर सचिवालय, सल्लाहकार वा पार्टीमा तपाईंकै विश्वासपात्र मानिएकाहरू भएको कुरा तपाईंले बेलैमा महसुुस गर्न सक्नुपर्छ । धेरैले अपमानित भएको अनुभव गरेको सुनिँदै छ । यस कुरालाई समेत विवेकपूर्ण ढंगले विचार पु¥याई आवश्यकताअनुसार पुनरवलोकन गर्दा हितकर हुनेछ । त्यस्तै, हजारौंको संख्याका गैरएमालेले तपाईंको नेतृत्वमा सरकार बन्छ भनेर सूर्य चिह्नमा भोट हालेका थिए । उनीहरूले पश्चात्ताप गर्नु नपर्नेगरी अघि बढ्न अनुरोध छ ।

तपाई सरकारमा आएपछि सदिऔंदेखिका बिकृतिमा जगड्एको नेपाली समाजले सकारात्मकता पाउँछ भन्ने कुरामा विश्वस्त हुँदै देश र विदेशमा भएका बहुसंख्यक नेपालीले भौतिक, नैतिक वा अन्य कुनै तवरले यसपटक केपीलाई अवसर दिनुपर्छ भन्ने मतअनुसार बहुमतका साथ विजय गराए । तर, जनता निरास बन्दैछन् । प्रधानमन्त्री आफंैले निर्धारित गरेका लक्ष्यको तुलनामा उल्लेख्य काम भएन भन्ने आम जनगुनासो छ । सरकारले गरेका हालसम्मका काम कुरा सकारात्मक नै होलान् भन्ने अपेक्षासहित शंकाको सुविधा सरकारलाई दिँदै अब चाहिँ सरकारले के गर्नुपर्छ गम्भीर हुनुपर्छ ।

न्त्यमा, फेरि पनि भित्र र बाहिरबाट सानातिना विषयमा अलमल्याएर आर्थिक समृद्धिको मूल लक्ष्यबाट विमुख गराउने प्रयत्नलाई पराजित गर्दै देश र जनतासँग गरेका वाचा पूरा गर्न सफलता मिलोस्, शुभकामना ।
(झापा÷हालः अष्ट्रेलिया)

बुधबार, २१ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर