म्याद सकिएको औषधी बेच्ने पक्राउ

विराटनगर ।  म्याद गुज्रिएको औषधी बिक्री गर्ने विराटनगर– ९ न्यूरो हस्पिटल अगाडि रहेको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’ का सञ्चालक पक्राउ परेका छन् ।

औषधी व्यवस्था विभाग विराटनगरले आइतबार गरेको अनुगमनको क्रममा फ्रेन्डसिप फार्मेसीबाट ठूलो संख्यामा म्याद सकिएको औषधी बरामद भएपछि विराटनगर– ५ सम्झना चौकका २७ वर्षीय विकास मण्डल पक्राउ परेका हुन् ।

विभागले मण्डलको फार्मेसीबाट म्याद गुज्रिएको औषधी फेला पारेपनि उनी पक्राउ परेका थिएनन् । बरामद गरिएको म्याद सकिएको औषधी विक्री गर्ने उद्देश्यले राखिएको र लेबल पनि मेटाएको पाइएकोले फार्मेसीमा विभागले ताला लगाएको थियो । अब सञ्चालकलाई पक्राउ गरि अनुसन्धान सुरू गरिएको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिनुभयो ।

ञ्चालक यादवले म्याद सकिएको औषधीमा लेबल प्रयोग गरि नयाँ मिति लगाएर औषधी बिक्री गर्न राखिएकोले विभागले विस्तृत अनुसन्धान सुरू गरेको हो । मण्डललाई मंगलबार जिल्ला अदालत मोरङमा ‘औषधी अनुचित प्रयोग र दुरूपयोग’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरिएको फार्मेसी निरीक्षक खड्काले बताउनुभयो ।

पक्राउ परेका मण्डललाई विभागले पहिलो पटक ७ दिनको म्याद थपको माग गरेकोमा मोरङ अदालतका मुख्य न्यायधीश मेदिनीप्रसाद पौडेलको इजालासले ५ दिनको म्याद दिएको छ । विभागले २५ दिन हिरासतमा राखेर अनुसन्धान पुरा गरेर अभियोग अदालतमा दायर गरिनुपर्दछ ।

म्याद गुज्रिएको औषधी राख्ने हाम्रो फ्रेण्डसिपका फार्मेसीका प्राविधक बोधराजकुमार चौधरी भने फरार छन् । फरार भएको चौधरीलाई पक्राउ पूर्जी जारी भएको अदालत स्रोतले जानकारी दिएको छ । उनको खोजी कार्य तीब्र बनाएको बताइन्छ ।

मण्डलको पसलबाट औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिृकत चतुर्भुजप्रसाद यादवको नेतृत्वको टोलीले अनुगमनको क्रममा १५ प्रकारको १ सय ३९ थान म्याद गुज्रिएको औषधी बरामद गरेको थियो । विभागमा विराटनगरको केही औषधी फार्मेसीले म्याद सकिएको औषधी बिक्री गरेको जानकारी पाएलगत्तै अनुगमन गरेको थियो । बरामद गरेको औषधीको परीक्षण गर्न राष्ट्रिय औषधी प्रयोगशाला काठमाडौं पठाएको फार्मेसी निरीक्षक खड्काले बताउनुभयो ।

यसअघि पनि मण्डलले भारतबाट अबैध रूपमा औषधी ल्याउने क्रममा पक्राउ परेका थिए । एक वर्ष अगाडि भारतबाट अवैध रूपमा औषधी ल्याउने क्रममा इलाका प्रहरी कार्यालय रानी विराटनगरले उनलाई पक्राउ गरेको थियो । मण्डलले तीन महिनादेखि सो फामेर्सी सञ्चालन गरेका हुन् ।

मगर जमानतमा छाडिए
यसैबीच प्राविधिक नराखी औषधी पसल सञ्चालन गर्ने विराटनगर–९ स्थित आँगन फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई औषधी व्यवस्था विभाग विराटनगरले हाजिर जमानतमा छोडेको छ । २१ दिनभित्रमा नियमन पुरा गरेको कागजपत्र औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने प्रतिवद्धता गरेपछि विभागले उनलाई तारेखमा छाडेको हो ।

विभागबाट आएको टोलीले आइतबार गरेको अनुगमनको क्रममा प्राविधिकविनै फार्मेसी सञ्चालन गरेको पाइएपछि मगरलाई पक्राउ गरेको थियो । ‘२१ दिनभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गर्ने प्रतिवद्धता जनाएका छन्,’ फार्मेशी निरीक्षक खड्काले भन्नुभयो, ‘अहिले मगरलाई तारखेमा राखेर छोडिएको छ । उनी नियमित विभागमा हाजिर हुनुपर्दछ ।’

बुधबार, २१ फागुन, २०७६, बिहानको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर