विराटनगर । अदालतको विचाराधिन रहेको सामूहिक बलात्कारको मुद्दा मिलाइदिने भन्दै अभियुक्तको आफन्तबाट ७ लाख २५ हजार रूपैयाँ लिएर ठगी गरेको घटनामा नेपाल विद्यार्थी संघ मोरङका पूर्वसभापति गोपाल सेढाईं मुछिएका छन् ।
अदालतमा पहुँच राम्रो रहेको भन्दै बलात्कार आरोपी ६ जनासँग पैसा लिएर ठगी गरेको घटनामा स्नातकोत्तर क्याम्पस विराटनगरको स्ववियुका पूर्वसभापतिसमेत रहेका सेढाईं मुछिएका हुन् ।
जवरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै अभियुक्तका आफन्तबाट रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले मोरङको रंगेली नगरपालिका–३ का ५६ वर्षीय श्रीमत मरन्डीलाई पक्राउ गरेपछि सो प्रकरणमा सेढाईंको पनि संलग्नता खुलेको हो । प्रहरीले मरन्डीलाई पक्राउ गरि सोमबार जिल्ला अदालत मोरङमा ठगी मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो । सामूहिक बलात्कारको मुद्दा मिलाइदिने भन्दै श्रीमतसँग मिलेर सेढाईंले पैसा असुलेको पाइएको प्रहरीले जनाएको छ ।
मोरङको धनपालथान गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि २०७५ जेठ १५ गते १० बजे राति सामूहिक बलात्कार भएको थियो । विवाहमा जन्ती आएकी किशोरीलाई रङ्गेली नगरपालिका ३ का २० वर्षीय सोरेन भन्ने सुरेन्द्र मरन्डी, सोही ठाउँका २४ वर्षीय तल्लु मर्मु, २३ वर्षीय बबु भन्ने प्रगान सतार, २३ वर्षीय डुडुङ भन्ने सोमलाल हेमरम, २२ वर्षीय बोईलर भन्ने सुनिल मरन्डी र २३ वर्षीय सुरेन्द्र टुडुले बलात्कार गरेको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दायर गरेको थियो ।
पीडितले जाहेरी दिएलगत्तै इलाका प्रहरी कार्यालय रङ्गेलीले प्रतिवादीलाई पक्राउ गरेको थियो । इप्रका रंगेलीले अनुसन्धान पूरा गरेपछि मोरङ अदालतमा मुद्दा दायर गरेको थियो । सामूहिक बलात्कारको सो घटनामा अदालतले २०७५ जेठ १२ गते प्रतिवादीहरुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
न्यायाधीश किशोर घिमिरेको इजलाशले गत माघ १९ गते उनीहरुलाई बलात्कार प्रयास गरेको भन्दै जनही ३ वर्ष ६ महिना कैदको सजाय तोकेको थियो । पैसा तिरेपछि आरोपीहरु छुट्ने विश्वासमा रहेका आफन्तहरु अदालतले कैद तोकेपछि सेढाईंसँग पुगेका थिए । सेढाईंले उल्टै धम्की दिएपछि उनीहरुले अदालतमा गएर न्यायाधीसलाई भेटेर गुनासो गरेका थिए । अदालतले ठगीमा परेको भए प्रहरीमा जान सुुझाएपछि उनीहरुले जाहेरी दिएका हुन् ।
प्रहरीका अनुसार पुर्पक्षको लागि थुनामा रहेका उनीहरुलाई न्यायाधीससँगको मिलेमतामा छुटाईदिने भन्दै सेढाईंले रकम असुलेका हुन् । घटनामा मुछिएका मरन्डी पक्राउ परेपछि सेढाईं भने फरार छन् । उनको मोवाइल पनि अफ रहेको छ ।
सेढाईंले अदालतमा बिचारधिन रहेको जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै प्रतिवादीको आफन्तबाट ७ लाख २५ हजार रूपैयाँ लिएको घटनाको अभियुक्तका आफन्तले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । रकम बुझाएपछि आफन्त छुट्ने अपेक्षा गरेका प्रतिवादीका परिवारहरु अदालतले कैद सजाय सुनाएपछि आक्रोशित भएका थिए ।
प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा विराटनगर कारागार गएपछि कैद सजाय मिलाइदिने भन्दै आफन्तसँग श्रीमतले पैसा असलेर सेढाईंलाई दिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रतिवादीलाई कैद सजाय भएपछि ‘हाम्रो मान्छे छुटेन’ भन्दै पैसा दिनेहरू सेढाईंकोमा पुगेका थिए । उनले उल्टै ‘धेरै कुरा गरेउ भने तिमीहरुलाई २० वर्ष जेल लगाइदिन्छु । ७ वर्ष कैद हुने घटनामा ३ वर्ष ६ महिनामा झारिदिएको हुँ’ भन्दै हप्काएपछि उनीहरु न्यायाधीससामु पुगेका थिए ।
अदालतले अन्यायमा परेको भए प्रहरीमा उजुरी दिन सुझाएपछि उनीहरुले प्रहरीमा जाहेरी दिएका हुन् । प्रहरीले श्रीमत मरन्डीलाई पक्राउ गरेको र नेता सेढाईंको खोजी भइरहेको जनाएको छ ।