शिक्षकले पोशाक नलगाए भत्ता रोक्का

ताप्लेजुङ । आइतबारबाट सबै विद्यालयमा पठनपाठन सुरु भएको ताप्लेजुङको मैवमाखोला गाउँपालिकामा शिक्षकले पोशाक नलगाइ विद्यालय आए भत्ता रोक्का गर्ने नियम लागू गरिएको छ ।

लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले औपचारिक विद्यालय खोल्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता थुर्ककुमार चोङ्वाङले बताउनुभयो ।

सबै विद्यालयमा आवश्यक स्वास्थ्य सामाग्री गाउँपालिकाले उपलब्ध गराइदिने प्रवक्ता चोङवाङले बताउनुभयो । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई बिहान कक्षा सञ्चालन हुनेछ भने कक्षा ८ देखि तलका विद्यार्थीलाई दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता चोङवाङले बताउनुभयो ।

शिक्षकलाई तोकिएको पोशाक अनिवार्य लागाएर मात्र विद्यालय हाजिर हुनुपर्ने शिक्षा शाखाका प्राविधिक सहायक अर्जुनकुमार घिमिरेले जानकारी दिनुभयो । पोशाक लगाए नलगाएकोबारे छड्के अनुगमन गर्ने र तोकिएको पोशाक नलगाउने शिक्षकको पोशाक भत्ता कटौती गर्ने निर्णय गाउँपालिकाले गरेको घिमिरेले बताउनुभयो ।

गाउँपालिकामा माध्यमिक विद्यालय ५, निम्नमाध्यमिक विद्यालय ३, आधारभूत विद्यालय २० गरी जम्मा २८ सामुदायिक विद्यालय सञ्चालनमा रहेको शिक्षा शाखा प्रमुख कोम्देनले जानकारी दिनुभयो ।

 

मङ्गलबार, २३ मंसिर, २०७७, बिहानको १०:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर