विराटनगरमा पुस २ गतेदेखि दुई सिफ्टमा विद्यालय सञ्चालन

विराटनगर । कोरोना भाइरसको जोखिमका कारण गत चैतदेखि बन्द रहेका विराटनगरका विद्यालय आगामी पुस २ गतेबाट सञ्चालनमा आउने भएका छन् ।

विराटनगर महानगरपालिको नगर शिक्षा समितिको बैठकले बन्द भएका विद्यालय ९ महिनापछि सञ्चालन गर्ने निर्णय गरेको हो ।

मोरङका अन्य स्थानीय तहमा विद्यालय सञ्चालन भइसक्दा पनि महानगरमा त्यसबारे निर्णय हुन ढिलाइ भइहरेको थियो । अब पुसको २ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय भएको महानगरनगर शिक्षा समितिका अध्यक्ष दुर्गा खतिवडाले जानकारी दिनुभयो ।

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई दिएको छ । विद्यालय सञ्चालन गर्दा महामारीबाट बच्न तोकिएको स्वास्थ्य प्रोटोकल भने पालना गर्नुपर्छ । सरकारले निर्धारण गरेको सम्पूर्ण प्रोटोकल पुरा गरेर विद्यालय खोल्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

विद्यालय सञ्चालन गर्दा विद्यार्थीको भिड कम गर्न २ चरणमा पठनपाठन सुचारु गर्ने निर्णय भएको छ । धेरै विद्यार्थीको भिडले महामारीको जोखिम बढाउने भएकोले बिहान र दिउँसो २ सिफ्टमा विद्यालय सञ्चालनको निर्णय भएको हो । विद्यालयमा विद्यार्थी तथा शिक्षकहरुले अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्नुपर्ने उल्लेख छ ।

विद्यालय खोल्नुपूर्व महानगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पुरा गरे वा नगरेको अनुगमन गर्नेछ । विद्यालय सञ्चालनपछि पनि मापदण्ड पालना भए नभएको स्थानीय तहले अनुगमन गर्नेछ ।

विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६ हजार ९ सय पुगेको छ । पछिल्लो समय सङ्क्रमण निरन्तर घट्दो क्रममा रहेकोले विद्यालय सञ्चालनको निर्णय गरेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

विराटनगरमा १०५ निजी , ५६ वटा सामुदायिक र २० वटा धार्मिक विद्यालयहरु सञ्चालनमा छन् । कोरोनाको जोखिमका कारण चैत ५ गते वार्षिक परीक्षा सम्पन्न गरेर बन्द भएका विद्यालय सञ्चालनमा नआउँदा हजारौं विद्यार्थीको पठनपाठन प्रभावित भइहरेको छ ।

सोमबार, २२ मंसिर, २०७७, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर