नेपालको काठ जंगलमा सड्दै : विदेशबाट २१ करोडको काठ आयात

विराटनगर । सरकारले नेपाली काठको उत्पादन र बिक्री बन्द गरेपछि विदेशबाट आयात गर्दा करोडौं रुपैयाँ विदेशिएको छ । नेपाली बजारमा काठको अभाव हुँदा एकातिर मूल्य वृद्धि भएको छ भने आन्तरिक माग धान्न भारत लगायत तेस्रो मुलुकबाट काठ आयात हुने क्रम बढेको छ ।

गत बैशास महिना यतामात्र विराटनगर भन्सार नाकाबाट लाखौं क्युविक काठ नेपाल भित्रिएको छ । भारत, मलेसिया, थाइल्याण्ड आदि देशबाट अहिले करोडौं मूल्य बराबरको काठ नेपाल आइरहेको छ ।

काठको आन्तरिक उत्पादन ठप्प हुँदा एकातिर बजारमा काठको माग बढेको छ भने अर्कोतिर जङ्गलमा चोरी तस्करीको चाप पनि बढेको छ । लामो समयदेखि स्थिर रहेको काठको मूल्य पनि अभावकै कारण बढेको छ ।

विराटनगर भन्सार नाका भएर पछिल्लो ७ महिनामा ४ लाख ५५ हजार ९०७ स्क्वायर फुट र ४ लाख ६५ हजार ६१३ मेट्रिक टन काठ आयात भएको छ । भन्सार विभागले कहिले स्क्वायर फुट र कहिले मेट्रिक टनमा तथ्यांक राख्ने गरेका कारण एकमुष्ट परिमाण पहिचानमा भने समस्या भएको छ ।

तेस्रो मुलुकबाट विशेष गरेर साल प्रजातिको काठ आयात भइरहेको व्यवसायीहरुले बताएका छन् । सात महिनाको अवधिमा करिव २१ करोड रुपैयाँ मूल्य बराबरको काठ आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । वैशाख महिनादेखि असारसम्म नेपालमा पूर्ण लकडाउनको अवस्था रहेको भएपनि त्यस अवधिमा करिव १० करोड रुपैयाँ बराबरको काठ आयात भएको थियो ।

साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा थप ११ करोड मूल्य बराबरको काठ आयात भएको देखिएको छ । विराटनगर भन्सार कार्यालयले यस अवधिमा काठ आयातबाट ५ करोड ५४ लाख ३४ हजार २०८ रुपैयाँ भन्सार राजश्व संकलन गरेको सूचना अधिकृत सुनिता पौडेलले जानकारी दिनुभयो ।

गत जेठ १५ गतेसम्म मोरङको जङ्गलमा वार्षिक कार्ययोजना अन्तर्गत कटान भएको ८० हजार क्युविक फुटभन्दा बढि सालको काठ संकलन हुन सकेको छैन । मोरङमा मात्र सरकारी मूल्यांकन अनुसार झण्डै १३ करोड रुपैयाँ बराबरको काठ संकलन हुन नसकी जङ्गलमै लडिरहेको बेला काठ खरिदकै लागि २१ करोडभन्दा बढी रकम विदेशिएको हो ।

दक्षिण एशियाकै तुलनामा नेपालमा काठको मूल्य अत्यन्त महंगो छ । प्रयाप्त वन स्रोत हुँदाहुँदै पनि उचित व्यवस्थापनको अभावमा योजनावद्ध रुपमा काठको उत्पादन नहुँदा मूल्य नियन्त्रण नभएको हो । घरकाजका लागि काठको प्रयोग गर्ने बानीले गर्दा नेपालमा काठको माग पनि उच्च हुने गरेको छ ।

गत जेठ महिनासम्म प्रतिक्युविक फिट काठ ४ हजार ८०० रुपैयाँमा पाउने गरेको सालको काठको मूल्य बढेर विराटनगरमा ५ हजार ५०० पुगेको छ । भारतमा प्रतिक्युविक फुटको मूल्य २ हजारदेखि २ हजार ८०० सय रुपैयाँसम्म छ । यस्तै बंगलादेशमा प्रतिक्युबिक फुट सालको काठको करिव २ हजार ५ सय रुपैयाँ पर्छ भने श्रीलङ्कामा पनि त्यसै हाराहारी मूल्य रहेको छ ।

अन्यत्रको तुलनामा नेपालमा काठको मूल्य बढि भएका कारण अन्तराष्ट्रिय आपुर्तिकर्ताहरुले नेपाललाई आकर्षक मुलुकको रुपमा लिने गरेको डिभिजन वन कार्यालय मोरङका प्रमुख वन अधिकृत अनिरुद्रकुमार साहले बताउनुभयो ।

सोमबार, २२ मंसिर, २०७७, बिहानको ०८:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर