प्रदेश १ मा ‘चलचित्र महोत्सव–२०७८’ हुने

विराटनगर । कोरोना कहरका कारणले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उद्देश्यले नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ ले ‘चलचित्र महोत्सव–२०७८’ आयोजना गर्ने भएको छ ।

आगामी वैशाख १७ देखि सुरु हुने महोत्सव तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रदेश न १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छायांकनका लागि एकदमै उपयुक्त स्थान भएकाले त्यसको प्रबद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो ।

चलचित्रकर्मीहरुलाई उत्साहित गराउँदै प्रदेश न १ को पर्यटकीय स्थानलाई प्रबद्र्धन गर्ने उद्देश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको महासंघका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिनुभयो ।

महोत्सवमा प्रदेश न १ का चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्नका लागि प्रदेश १ मा बनेका कथानक चलचित्रहरु, छोटो चलचित्रहरुका लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानक चलचित्रहरु र छोटो चलचित्रहरुको छुट्टै बिधाअन्तर्गत रहेर चलचित्रहरु प्रदर्शन गर्ने योजना छ । महोत्सवको तयारीस्वरुप नै महासंघका विभिन्न शाखाका पदाधिकारीहरुसहितले शुक्रबार प्रदेश १ का मुख्यमन्त्रीसँग भेटघाट र छलफल गरेका थिए ।

महोत्सवको बारेमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला, कानूनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा वन मन्त्री माननीय जगदीश कुशियतलगायतसँग छलफल भएको अध्यक्ष प्रधानले बताउनुभयो । गत वर्ष कात्तिक २९ देखि मङ्सिर २ गतेसम्म प्रदेश सरकारले आयोजना गर्ने तय भएको महोत्सव अन्तिम समयमा रोकिएको थियो ।

अबको महोत्सव कार्यक्रम प्रदेश एकका विभिन्न शहरमा चरणबद्धरुपमा सञ्चालन हुने महासचिव दिनेश कोइरालाले जानकारी दिनुभयो ।

आइतबार, २१ मंसिर, २०७७, बिहानको १०:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर