सहिद रंगशालमा फ्लड लाइट जडान सुरु

विराटनगर । सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम सुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य बिहीबार सुरु भएको हो ।

भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाईएको लाइट जडानका लागि हाल भारतको मुम्बईबाट १, कोलकाताबाट २, सिलगढीबाट ४, आसामबाट ३ जना प्राविधिक कार्यरत छन् ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो । लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको ठेकेदार कम्पनीले जनाएको छ ।

फ्लड लाइट जडानका लागि सामाजिक विकास मन्त्रालयले ४ करोड २९ लाख रुपैयाँमा सम्झौता गरेको छ । लाईट जडानपछि रंगशालामा रात्रीकालिन खेलकुद गतिबिधि सञ्चालन गर्न सहज हुनेछ ।

फ्लड लाइटको मास्ट राख्ने कार्यको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रंगशालालाई समयानुकल अत्याधुनिक रंगशालाका रुपमा निर्माण गर्ने बताउनुभयो ।

विराटनगरलाई खेलकुदमय बनाउनका लागि काम सुरु भएको बताउँदै घिमिरेले कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिति हेरेर चाँडै सक्रिय बनाउने उल्लेख गर्नुभयो । संरचना निर्माणमा जोड दिदैं उहाँले रंगशालाको पुराना संरचना सुधार र मर्मत गर्दै सुविधासम्पन्न बनाइने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सहिद रंगशालाको प्याराफिटको स्तरोन्नतिमा विशेष ध्यान दिने बताउनुभयो । महानगरमा खेलकुद गतिविधिलाई तीव्रता दिन गुरुयोजना भएपनि बजेट अभावका कारण पूर्णता दिन नसकिएको उहाँको भनाइ छ ।

बिहिबार, १८ मंसिर, २०७७, साँझको ०५:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर