अस्पतालमा अलपत्र युवाको उद्धार

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारपछि पैैसा तिर्न नसकेर अलपत्र बनेका युवाको सोमबार उद्धार गरिएको छ ।

उपचारको पैसा तिर्न नसकेपछि ८ महिनादेखि हस्पिटलमै रहेका संखुवासभाको खाँदबारी नगरपालिका – १० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार गरिएको हो ।

धरान–संखुवासभा सरोकार समाजको अगुवाईमा अस्पतालमा रकम बुझाएर जीवनको उद्धार गरिएको हो । उनको उपचार वापत लागेको ५ लाख रुपैयाँ अस्पतालाई बुझाएको समाजका अध्यक्ष मिक्मा भोटेले जानकारी दिनुभयो । बाँकी २ लाख ९७ हजार रुपैयाँ भने अस्पतालले मिनाहा गरिदिएको छ ।

अध्यक्ष भोटेका अनुसार औषधि र क्यान्टिनमा लागेको १ लाख ७२ हजार रुपैयाँ पनि भुक्तानी गरिएको छ । चन्दनपुर घर भई अस्टे«लियामा रहेकी सविना थापाले जीवनका लागि एक लाख रुपैयाँ, हङ्कङबाट धर्म राईको नेतृत्वमा संकलन गरेर २ लाख ९३ हजार ३ सय ६० रुपैयाँ संकलन भएको छ । यस्तै संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमलगायतको पहलमा गृह मन्त्रालयले ५ लाख रुपैयाँ दिएको बताइएको छ ।

भुजेलको उद्धार गर्न सरोकार समाजले २४ हजार १ सय ८० रुपैयाँ सहयोग ग¥यो भने संखुवासभाको खाँदबारी नगरपालिकाले पनि एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । उद्धार गरेर जीवनलाई थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगिने समाजले जनाएको छध । काठमाडौंमा सामाजिक अभियन्ता संखुवासभा निवासी रविन ढकालले उपचारमा सहयोग गर्ने बताइएको छ ।

खेलमैदान निर्माणको जिम्मा लिएर बुवा गणेशसँगै भोजपुरको षडानन्द नगरपालिका–१ मझुवावेंसीमा पुगेका बेला निर्माणाधिन इर्खुवा हाईड्रोपावरका कामदारले आक्रमण गर्दा गत असार ५ गते भुजेल गम्भीर घाइते भएका थिए । आक्रमण गर्नेहरु प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन भोजपुरबाट ५ हजार रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् । हाईड्रोपावरका कामदार मोरङको धानपालथान गाउँपालिका–७ का २३ वर्षीय सुशीलकुमार गिरी, १९ वर्षीय प्रल्हाद गिरी, विराटनगर महानगरपालिका–१९ का ३० वर्षीय माधव भनिने सन्तकुमार गिरी र रुद्र गिरीले उनीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।

घाइते जीवनलाई बुवा गणेशले नै उनलाई उपचारका लागि असार ६ गते विराटनगर ल्याएकोमा उपचारवापत लागेको पैसा खोज्नका भन्दै निस्केका उनी नफर्किएपछि अस्पतालमै अलपत्र बनेका थिए । पारिवारिक आर्थिक अवस्था एकदम कमजोर रहेको पैसा तिर्नसक्ने अवस्थामा परिवार नरहेकोले गणेश सम्पर्कविहिन भएको अनुमान छ ।

उपचार गराएको पैसा नतिरेको भन्दै अस्पतालको पाँचौ तलाको सर्जिकल वार्डमै बस्न बाध्य जीवनलाई अस्पतालकै कर्मचारीले क्यान्टिनबाट खानेकुरा लगिदिने र हेरचाह गर्ने गर्थे । घाँटीमा प्वाल पारेर पाइप राखिएकाले उनको बोली आउँदैन ।

अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार साहले घाँटीमा रड प्रहार भएका कारण जीवनको घाँटीमा पाइप राख्नुपरेको बताउनुभयो । ‘श्वास फेर्न गाह्रो भएपछि घाँटीमा प्वाल पारेर पाइप राखिएकाले शल्यक्रियामार्फत यसलाई निकाल्नुपर्छ,’ डा. साहले भन्नुभयो, ‘प्रदेश १ मै सम्भव नहुने र काठमाडौंमा गरिने यो शल्यक्रिया जटिल खालको हुन्छ ।’

 

सोमबार, १९ फागुन, २०७६, रातीको ०९:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर