विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वेको कामले गति लिने बताउनुभएको छ ।
मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भए पनि अब निर्माणले चाँडै गति लिने मन्त्री घिमिरेले बताउनुभयो ।
मुआव्जाको विवाद समाधानतर्फ गएको भन्दै उहाँले रिङरोड र रेल्वे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने बताउनुभयो । कटहरी १ को जेएम युवा क्लवको २४ औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री घिमिरेले सोमबार सो कुरा बताउनु भएको हो । उहाँले मोरङको कटहरीले इतिहासमा अहिलेसम्म नपाएको बजेट पाईरहेको दावी गर्नुभयो ।
तीन बर्षको अवधि भित्रमा कटहरीको विकासले गति लिएको मन्त्री घिमिरेको भनाइ छ । बार्षिकोत्सवको अवसरपारि आयोजित टेवल टेनिस प्रतियोगिताका विजेतालाई पनि सो अवसरमा मन्त्री घिमिरेले पुरस्कार वितरण गर्नुभयो । उहाँले संसद विकास कोषबाट ५० हजार रुपैयाँको खेल सामाग्री पनि क्लबमार्फत खेलाडीहरुलाई वितरण गर्नुभएको थियो ।