दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा करिब डेढ अर्ब बढि लगानीमा नेपालकै अग्लो (भ्यूटावर) धमाधम निर्माण भइहरको छ ।
नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलामा १०० मिटर अग्लो हुनेगरि निर्माण भइहराके छ ।
सघन शहरी तथा भवन निर्माण आयोजनाले दमक नगरपालिका ३ दापगाँछीमा ५ बिगाहा जग्गामा १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँ लगानीमा भ्यूटावर निर्माण भइरहेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इन्जिनियर भुपेन्द्रकुमार यादवका २०७८ पुस २७ गते निार्मण सम्पन्न गर्नेगरी चिनियाँ कम्पनी जेडसीजीआईइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले भ्यूटावर निर्माणको ठेक्का लिएका छन् ।
दमक चोकबाट ६ किलोमिटर पश्चिमोत्तर दापगाँछी गाउँमा यसको निर्माण भइरहेको छ । वर्गाकारमा बन्ने टावरको सबैभन्दा तल्लो तलामा सावरी साधन पार्किङस्थल हुनेछ । टावरको दक्षिणतिर प्रवेशद्वार, टिकट काउन्टर, सोभेनियर रुम रहने र पूर्वतिर स्वास्थ्य चौकी बनाइने प्रोजेक्ट मेनेजर बिडारीले जानकारी दिनुभयो । ‘ओपन एयर थिएटर’ र उत्तरतिर फाउन्टेन पार्क, बाल उद्यानलगायतका संरचना बनाइने भएको छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भ्यूटावरले वर्षेनी हजारौं पर्यटक आकर्षित गर्ने दावी गर्नुभएको छ । मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन नै मुख्य आधार भएको हुँदा यस क्षेत्रका बासिन्दाको आर्थिकस्तरमा भ्यूटावरको निर्माणपछि कायापलट हुने उहाँको दावी छ ।
भ्यूटावरबाट मधेशको फराकिलो फाँट र धनकुटा, इलाम र पाँचथरका पहाडी रमणीय भूगोलको दृश्यावलोकन गर्न सकिने दावी गरिएको छ । भ्यूटावर दृश्यावलोकनका लागि मात्र नभएर व्यावसायिक प्रयोजनका दृष्टिले पनि महत्वपूर्ण हुने ‘सपिङ कम्प्लेक्स’को अवधारणबाट डिजाइन गरिएको छ ।
इन्जिनियर यादवले भ्यूटावरको निर्माण कार्य कोभिड १९ को विश्वव्यापी महामारीले प्रभावित गरे तापनि प्रगति सन्तोषजनक रहेको बताउनुभयो । बेसमेन्ट ढलानको काम यसै साताभित्र सम्पन्न हुने र त्यसपछि धमाधम तलाहरुको काम अघि बढ्ने उहाँको भनाइ छ । टावरको बेसमेन्ट बलियो बनाउन ८१ ओटा ठूला पिलर ठड्याइएका छन् भने पुसदेखि हरेक महिना दुईवटा तलाको निर्माण कार्य पूरा गर्ने आयोजनाको लक्ष्य छ ।
भ्यूटावर बन्नुमा प्रधानमन्त्रीपछि दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय स्व.युवराज दाहाल र पशुपति खतिवडाको योगदान रहेको छ । टावर वरिपरि सय परिवार धिमाल समुदायको बसोबास छ । भ्यूटावर बनेपछि त्यहाँ घरबास (होमस्टे) व्यवसायसमेत विस्तार हुने स्थानीयवासीको आशा छ ।