एम्बुलेन्स दुर्घटना हुँदा विरामीको मृत्यु

विराटनगर । कोशी राजमार्गस्थित विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा सोमबार विहान भएको एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

श्वासप्रश्वासमा समस्या भएका विरामीलाई उपचारका लागि सप्तरीबाट विराटनगर ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो ।

रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोक्किएर सोमबार बिहान १ बजेतिर सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ । एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो ।

दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ । एम्बुलेन्स लहरीमा ठोक्किएपछि भएको दुर्घटनामा परेर गम्भीर घाइते हुन पुगेका उनको उपचारका क्रममा नोबेल मेडिकल कलेजमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

दमले च्यापेपछि मण्डललाई बीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो । तर, उनी अस्पताल पुग्न पाएनन् ।

दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेलमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक हरिनारायण यादव भने फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर एम्बुलेन्समा पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

मंसिर १५, २०७७, बिहानको १०:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर