विराटनगर । नेपाल–भारत सिमा नाकामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्ने दुई भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ सामान ल्याउन नदिएको भन्दै प्रहरीमाथि नै हातपात गर्ने एक पुरुष र महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल–भारत आवतजावत तथा तस्करी जन्य कार्य गर्नेहरुलाई रोक्न खोज्दा प्रहरीमाथि हातपात गर्ने भारत अररिया जोगवनी छोटी मस्जिद बस्ने २७ वर्षीय जुबेर मन्सुरी र ३० वर्षीया अप्सना खातुनलाई प्रहरीले पक्राउ गरेको हो । मटेरुवा प्रहरी चौकीबाट सिमामा खटेको प्रहरीमाथि हातपात तथा बलजवस्ती गर्ने क्रममा एक जना प्रहरी जवानको युनिफर्मसमेत च्यातिदिएको आरोपमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीमाथि हातपात तथा दुव्र्यव्यहार गर्ने दुवै महिला र पुरुषलाई अदालतबाट म्याद थप गरी अभद्र व्यवहार सम्बन्धी कारबाही अगाडि बढाउने इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । सरकारले कोरोना भाइरसको उच्च जोखिमलाई हेर्दै सिमा नाका बन्द गरेको अवस्थामा तस्कारी र अबैध कारोबार भने रोकिएको छैन ।