विराटनगर । प्रदेश १ सरकारको व्यवस्थापनमा लक्षणसहितका कोरोना संक्रमितहरुको उपचारका निम्ति विस्तार भईरहेको कोभिड-१९ उपचार केन्द्रको कार्य अझै सम्पन्न भएको छैैैन ।
तिहार अगावै निर्माण सम्पन्न गरेर सञ्चालन ल्याउने दाबी गरिएको अस्पतालको कार्य सम्पन्न गर्न अझै करिब दुई साता लाग्ने भएको छ । विराटनगर-१० स्थित नेशनल ट्रेडिङको भवनमा सञ्चालनमा रहेको कोशी अस्पताल अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रलाई विस्तार थप समय लाग्ने भएको हो । केही प्राविद्यिक समस्या र बिचमा आईपरेका चाडपर्वका कारण पुर्वाधार व्यवस्थापनका कार्यहरु बाँकी रहेकाले अस्पताल सञ्चालनमा ढिलाई हुने भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा विस्तार भईरहेको कोभिड अस्पतालको हालसम्म ९० प्रतिशत निर्माण सम्पन्न भईसकेको बताइएको छ । रङ्गरोगन, ए.सी फिटिङ र बिजुलीबत्ती लगायतका पुर्वाधार जडान तथा ग्राउण्ड क्लियरेन्स लगायतका कार्यहरु बाँकी रहेको अस्पतालका ईन्जिनियर रन्जितराज बस्नेतले जानकारी दिनुभयो ।
आन्तरिक पुर्वाधार व्यवस्थापनका कार्यहरु बाँकी रहेकाले अस्पताल सञ्चालनमा ढिलाई भएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । पछिल्लो समय लक्षणसहितका बिरामीहरु बढदै गईरहेकाले प्रदेश सरकारले आईसियु, भेन्टिलेटर र अक्सिजन लगायतका आवश्यक स्वास्थ्य पूर्वाधारहरुसहित थप १ सय शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । प्रदेश सरकारको २ करोड र नागरिक केयर सेन्टरको १ करोड ५० लाख रुपैयाँ लागतमा अस्पताल विस्तारको कार्य भइरहेको छ ।
पूर्वाधार निर्माण तथा व्यवस्थापनका कार्यहरु सम्पन्न भएलगत्तै आवश्यक स्वास्थ्य उपकरण खरिदको प्रक्रिया अघि बढाउन प्रदेश सरकारले नागरिक केयर सेन्टरलाई थप १ करोड रुपैयाँ प्रदान गर्ने जनाएको छ । ३५ वटा एच.डी.यु र ६५ वटा जेनरल आईसियु बेडसहित विस्तार भईरहेको अस्पतालमा लक्षणसहितका गम्भीर प्रकृतिका बिरामीहरुको उपचार हुने प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले हाल सञ्चालन गरेको १ सय शैय्याको कोभिड–१९ उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र २० वटा अक्सिजन बेडमा संक्रमितहरुको उपचार भईरहेको छ ।