विराटनगर । ससुराको मृत्यु संस्कारमा बुहारीलाई जातीय विभेद गर्ने मोरङको उर्लाबारीका एकै परिवारका चार जना आरोपी अझै पक्राउ परेका छैनन् ।
उर्लाबारी नगरपालिका ४ की ३० वर्षीया कोपिला बर्देवालाई ससुरा भीमराज गहतराज (विश्वकर्मा)को सगोलमा मृत्यु संस्कार गर्न नदिने आरोपीहरु किटानी जाहेरी दर्ता भएको २० दिन पुगिसक्दा पनि पक्राउ नपरेका हुन् ।
सानो जात दमाई भएको भन्दै ससुराको काज किरिया संगोलमा गर्न दिएपछि बुहारी कोपिलाले कात्तिक २३ कात्तिकमा इलाका प्रहरी कार्यालयमा ६ जना आरोपी विरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी दर्ता भएपछि प्रहरीले कोपिलाका श्रीमान दिवश र उनकी जेठी श्रीमती तारा गहतराजलाई पक्राउ गरेको भएपनि अन्य पक्राउ परेका छैनन् ।
अन्य आरोपीहरु सासु ५५ बर्षीया सुनिता गहतराज, जेठी श्रीमती ताराकी वहिनी २५ वर्षीया शारदा घतानी, जेठाजुहरु ४० वर्षीय दिपक र ३८ वर्षीय सम्भु गहतराज अझै फरार छन् । फरार रहेकामध्ये दिपक नेपाल दलित संघ उर्लाबारी नगर समितिका अध्यक्ष हुन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले फरारहरु सबैको खोजी भइरहेको जानकारी दिनुभयो । पक्राउ गरिएकी तारालाई कोरोना संक्रमण भएपछि प्रहरीले उपचारका लागि परिवारको जिम्मा लगाएको छ ।
नेपाल दलित संघका केन्द्रिय सस्य तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि रहेका ७० वर्षीय भीमराज गहतराज (विश्वकर्मा) को १३ कात्तिकमा निधन भएको थियो । उनको सामुहिक अन्तेष्टि गर्न र काजकिरिया बार्न कान्छा छोराकी कान्छी श्रीमती कोपिलालाई गहतराज परिवारले रोक लगाएपछि उनी अलग्गै बसेर ससुराको काजकिरया गरेकी थिइन् ।
कोपिलाको १० वर्ष अघि स्वर्गीय भीमलालका कान्छा छोरा दिवससँग विवाह भएको थियो । उनीहरुको ८ वर्षकी एक छोरीको जन्मदर्तासमेत भइसकेको छ ।
कोपिलाले आफूमाथि जातीय विभेद गर्ने श्रीमान दिवस गहतराजसँग सम्बन्ध विच्छेद गराई अंश र मानाचामल दिलाउन माग गर्दै जिल्ला अदालत मोरङमा मुद्दा पनि दर्ता गराएकी छन् ।