परिणाममुखी कामको अभियानमा छौंः उपप्रमुख पराजुली

पथरीशनिश्चरे । बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित तमाम योजनाहरूको कार्यान्वयन गर्ने क्रमलाई तीब्रता दिएको छ ।

नगरपालिकाका सबै वडाहरूमा पूर्वाधार विकासका कामहरू तीब्र गतिले अघि बढीरहेका छन् । यसैक्रममा आज नगर उपप्रमुख एवम् नगरस्तरीय अनुगमन समितिकी संयोजक ढाकाकुमारी पराजुलीको संयोजकत्वमा विभिन्न वडाहरूमा सञ्चालित विभिन्न योजनाहरूको अनुगमन गरिएको छ ।

वडा नं. ११ मा सञ्चालित विपन्न वर्गका लागि निर्माण गरिएको जनता आवास कार्यक्रम, सडक कालोपत्रे र वडा नं. ७ मा निर्माण सम्पन्न भएको सडक कालोपत्रे योजनाको अनुगमन गरिएको छ । अनुगमन कार्य उपप्रमुखसहित अनुगमन समिति सदस्यहरू प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, नगर कार्यपालिका सदस्य बिन्दु गुरूङ, इञ्जिनियर बालकृष्ण निरौला, सव–इञ्जिनियर अजित महतरालगायतको उपस्तिथिमा भएको थियो ।

बेलबारी–७ स्थित पुरानो बाहुनी उत्तरपट्टि ओइलानी टोल सडक कालोपत्रे योजनाअन्तर्गत ५०० मिटर लम्बाई रहेको कालोपत्रे योजना अनुगमन गर्दै उपप्रमुख पराजुलीले यस वर्ष नगरपालिकाले वैशाख महिनाभित्र नै सम्पूर्ण योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित काम गरिरहेकोले प्रस्तावित शतप्रतिशत योजनाहरू समयभित्रै सम्पन्न हुने बताउनु भयो ।

‘स्थानीय सरकारले अघि बढाएका नीति तथा कार्यक्रम सफल बनाउने दायित्व नागरिकको पनि हो । हामी काम गुणस्तरीय होस्, परिणाममुखी होस् भनेर निरन्तर लागिपरेका छौँ,’ पराजुलीको भनाइ छ, ‘यसमा नागरिकको पनि सहयोग आवश्यक छ । बजेट हिनामिना दुरूपयोग हुनबाट रोक्न नगरपालिका सचेत भएर लागेको छ ।’

योजना कार्यान्वयनमा ढिलासुस्ती गर्ने वा आलटाल गर्ने ठेकेदारलाई उपभोक्ता समिति जो सुकै भएपनि विधि पद्दतिबाहिर गए कारबाहीको भागिदार बन्नुपर्ने उहाँको भनाइ छ ।

शुक्रबार, १२ मंसिर, २०७७, रातीको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर