विराटनगर । भोजपुर हतुवागडी नगरपालिका–४ का ४० वर्षीय कोरोना संक्रमितको पुरूषको स्वासप्रश्वासमा समस्या भएपछि अहिले मोरङको बुढीगंगा गाउँपालिका १ स्थित विराट टिचिङ्ग हस्पिटलको कोभिड अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आर्थिक अवस्थामा नाजुक रहेको ती संक्रमित पुरुषको उपचार गर्न छोरी हस्पिटलमा छिन् । संक्रमित बावुको उपचारको लागि अस्पतालले धरौटी रकम तीन लाख रुपैयाँ बुझाएपछि मात्र अहिले उपचार भएको उनले बताइन् । ‘अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,’ कोभिड अस्पतालको अनुगमन निस्किएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भावविहल हँुदै गुनासो सुनाउँदै ती महिलाले भनिन्, ‘अहिले अस्पतालमा भन्टिलेटरमा राखेर उपचार गरेको अस्पताललाई दिनको ५० हजार रुपैयाँ बुझाउँदै आएको छु ।’
मुख्यमन्त्री राईको गृह जिल्लाकी ती महिलाले बावुको उपचार गर्दा गर्दै भएको तीन लाख रुपैयाँ भन्दा बढी पैसा सकियो,’ शुक्रबार अनुगमन निस्किएका मुख्यमन्त्रीलाई गुनासो सुनाउँदै ती महिलाले भनिन्, ‘थप उपचारको लागि पैसा छैन । कहाँबाट लिएर आउनु ?’ संक्रमित ती पुरुष ८ मंसिरदेखि विराट टिचिङि हस्पिटलको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनले आफ्नो मात्रै पीडा नबोलेको बताउँदै अस्पतालमा बसेका अन्य नागरिकले झन् कष्ट बेहोरिरहेको गुनासो मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेको अगाडि रुँदै गुनासो पोखिन् ।
यस्तै सुनसरीको इनरुवा नगरपालिका–४ का त्रिलोचन्द्र गुप्ताको समस्या पनि उस्तै छ । ६५ वर्षीय कोरोना संक्रमित बावुको उपचार गरेको चार दिनमा पाँच लाख रुपैयाँ सकिएको बताए । ‘बावुको उपचारमा अहिलेसम्म पाँच लाख रुपैयाँ सकियो,’ बावुको स्वास्थ्यमा कुनै सुधार भएको छैन । अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,’ संक्रमितका छोरा गुप्ताले भने, ‘दैनिक भेन्टिलेटरमा राखेको मात्र २० हजार रुपैयाँ तिर्दै आएको छु ।’ नोबेल अस्पतालले विविध शीर्षकमा चर्को शुल्क लिएका कारण उपचार गराउन नसक्ने अवस्थामा पुगेको बताए । बावुको उपचारमा सुधार नभएपछि घर लैजाने तयारी गरेको उनले बताए । ‘भएको पैसा पनि बावुको उपचारमा सकियो,’ थप उपचार गर्ने पैसा पनि छैन,’ उनले भने । नोबेलमा बिरामीका आफन्तले बेहोर्नु परेको दुःखदेखि मनोमानी शुल्कको असरबारे अधिकांशले गुनासो गरेका हुन् ।
कोरोना संक्रमितको उपचारमा विराटनगरका निजी अस्पतालले मनोमानी चर्को शुल्क असुलेको र विरामीका आफन्तलाई पीडा दिएको व्यापक गुनासो बढेपछि प्रदेश सरकारका मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोलीले स्थलगत निरीक्षण र आफन्तको गुनासो सुनेका हुन् ।
गरिबको निःशुल्क उपचार नगर्नेलाई कारबाही: मुख्यमन्त्री
मुख्यमन्त्री शेरधन राईले निजी अस्पतालहरुले संक्रमित भएका आर्थिक अवस्था नाजुक, असाय र ज्येष्ठ नागरिकको निःशुल्क उपचार नगरे कारबाही गर्ने चेतवनी दिनुभएको छ । सरकारले निर्णय सच्याउँदै अहिले आर्थिक अवस्था नाजुक, अशहाय र ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने भएकोले यसको कार्यान्वयन निजी हस्पिटलले पनि गर्नुपर्ने मुख्यमन्त्री राईले बताउनु भयो ।
‘निजी अस्पतालहरुमा के कसरी लागू भएको छ । यी कुरालाई प्रत्यक्ष हेरेर त्यसलाई लागू गरि कडाइको रुपमा पालना गर्न हामीले आवश्यक निर्देशन दिएको छ,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘अहिले नियमित अनुगमन हुनेछ । कार्यन्वयन नर्गेलाई कारबाही हुनेछ ।’ निजी अस्पतालले संक्रमितको उपचारमा धरौटी लिनेलाई पनि कारबाही गरिने उहाँले बताउनु भयो । ‘हामीसँग बिरामीका आफन्तले गरेको गुनासोका आधारमा तत्काल केही निर्णय लिनेछौं,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘नागरिकको स्वास्थ्य सुरक्षामा सरकार सँधै तत्पर छ ।’ मुख्यमन्त्री राईले सरकारकै निर्णयका कारण केही समय नागरिकले उपचार असुविधा बेहोर्नु परेको बताउनु भयो । ‘सरकारले नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ, तोकिएको अस्पतालमा पुगेर सेवा लिनका लागि हार्दिक अपिल गर्दछु,’ मुख्यमन्त्री राईले भन्नुभयो ।
विराटका सञ्चालक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले उपचार राम्रो भएकोले सरकारले भनेकै शुल्कमा सम्भव नहुने बताउनु भयो । उहाँले आफ्नो संस्था चलाउने विषयमा समेत सरकारले सोच्नुपर्ने बताउनु भयो । कार्कीले सरकारले नागरिकको उपचारबाट हात झिकेर तिर्नसक्नेसम्म लिनु भनेकोले रकम लिने गरेको बताउनु भयो ।
यसैगरी नोबेलका निर्देशक डाक्टर राजेश नेपालले सरकारले तोके अनुसारको मूल्य लिने गरेको बताउनु भयो । उहाँले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न नसकिने बताउनु भयो । उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकलगायत अन्य खर्चका कारण आफूहरूले उपचार निःशुल्क गर्न नसक्ने बताउँदै उनले यसको जिम्मा राज्यले लिनुपर्ने बताउनु भयो ।
एकै दिनको ५ हजारदेखि ५० हजारसम्म असुली
२ कार्तिकमा सरकारले संक्रमितको उपचार खर्च नब्यहोर्ने निर्णय गरेपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र विराट शिक्षण अस्पतालले कोरोना संक्रमित बिरामीहरूको उपचारमा चर्को रकम असुल्ने गरेको छ ।
यी अस्पतालहरुले कोरोना संक्रमितको उपचारमा प्रतिदिन ५ हजारदेखि ५० हजार रूपैयाँसम्म शुल्क निर्धारण गरि संक्रमितका आफन्तसँग असुली गर्दै आएका छन् ।
विराट टिचिङ्गमा जनरल वेडको प्रतिदिन ८ हजार, अक्सिजनसहितको वेडको प्रतिदिन ३५ हजार र भेन्टिलेटरको ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ । अस्पतालले तोकेको शुल्कमा खाना, खाजा र चिकित्सकको चार्जसमेत रहेकोे अस्पतालले जनाएको छ । यता विराटनगरकै न्यूरो अस्पतालले भने जनरल बेडको प्रतिदिन ४ हजार ६ सय २५ रुपैयाँ, आइसियूको १५ हजार र भेन्ट्रिलेटरसहितको आइसियूको ३० हजार रुपैयाँ लिने गरेको छ ।