विराटनगर । कोरोना भाइरस संक्रमणका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा एक सुत्केरीको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका १० घर भएकी २५ वर्षीया सुत्केरीको बिहीबार राति मृत्यु भएको हो ।
नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएकी उनी पछिल्लो समय घरमै आइसोलेसनमा बसेकी थिइन् । उनलाई श्वास फेर्न गाह्रो भएपछि बुधबार उनलाई उपचारका लागि परिवारका सदस्यले नोबेलमा भर्ना गरेका थिए । गम्भीर अवस्थामा भर्ना गरिएकी उनलाई तत्काल आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा राख्दै उपचार थालिएपनि भोलिपल्टै ज्यान गएको हो ।
मृतक १७ दिनकी सुत्केरी हुन् । उपचारको क्रममा मृगौलामा खराबी पाइएको र निमोनियाको पुरानै समस्या मृतकमा रहेको नोबेलले जनाएको छ ।
प्रसूति व्यथाले च्यापेपछि झापाको दमकस्थित आम्दा अस्पताल भर्ना गरिएकी महिलाको कात्तिक २५ गते प्रसुति शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत छोरी जन्माएपछि उनी सामान्य अवस्थामा घर फर्किएकी थिइन् ।
घर फर्किएएको चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएपछि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा भर्ना गरिएकी महिलामा कात्तिक ३० गते पीसीआर परीक्षण कोरोना संक्रमण देखिएको थियो । मृतक परिवारको अनुसार पिसिआर परीक्षण गर्दा पहिलो रिपोर्ट नेगेटिभ र १२ घण्टाभित्र दोस्रो रिपोर्ट पोजेटिभ आएको थियो ।
संक्रमणपछि ५ दिन विराटको आइसीयुमा भर्ना गरिएकी उनलाई स्वास्थ्य अवस्थामा सुधार भएपछि होम आइसोलेसनमा राख्नेगरी परिवारले घर लगेका थिए । तर, पुनः स्वास्थ्यमा समस्या देखिएर बोलीसमेत बन्द भएपछि उनलाई नोबेलमा भर्ना गरिएको थियो ।
उपचारमा लापरबाही गरेर सुत्केरीको मृत्यु भएपछि अस्पतालले विभिन्न बहाना बनाएर मृत्युको कारण कोरोना देखाउने प्रयास गरेको आरोप पीडित परिवारले जनाएको छ । बिहीबार राति नै बिरामीको मृत्यु भए पनि परिवारका सदस्य र आफन्तलाई शुक्रबार बिहान मात्रै जानकारी अस्पतालले जानकारी दिएको थियो ।