फूल लाउला केसरी, मन्त्रीज्यूको गफै भो बेसरी

 विक्रम लुईटेल

रिङ्केबुङको राँगालाई चुङ्केबुङको चुलेसीले
ताप्लेजुङमा ताकेर कालेबुङमा काटेर
अरुण तमोर तरौंला, तितेफापर छरौंला
फूल लाउला केसरी, खाउँला बेसरी

२०३२ सालमा सुरेश गन्धर्वले गाएको यो गीत नेपाली जनजिब्रोमा सदावहार झुण्डिरहेको छ । फेरि पछिल्लो समय रमेश प्रसाईको स्वरमा यो गीतलाई रेकर्डिङ गरेर बजारमा ल्याइएपछि यसको चर्चा चुलिएको मात्रै छैन्, नयाँ पुस्ताले गाइने र गन्धर्वको विषय पनि बुझ्ने अवसर पाएको छ । यसले पश्चिमा संस्कृति र गायनमा झुम्मिरहेका युवा पुस्तालाई नेपाली भाषा, संस्कृति, परम्पराका साथै संगीत क्षेत्र कति बलियो रहेछ भन्ने राम्रोसँग बुझाउने अवसरको रुपमा समेत बदलिदिएको छ ।

समाजमा कला र शीपयुक्त जाति गन्धर्वहरुको अवस्था कस्तो रहेको छ भन्ने कुरालाई पनि अझ प्रष्ट बनाएको छ । समाज रुपमान्तरण, संस्कृतिको सम्वद्र्धनमा जीवन योगदान दिनेहरुलाई राज्यले कसरी हेरिरहेको छ भन्ने पनि देखाएको छ । स्थानीय जनजीवनको भाका, स्थानीय लोक संस्कृतिमात्र नभई भौगोलिक पहिचानलाई सुदुरसम्म पु¥याउने गन्धर्वहरुले उपेक्षाबाहेक केही नपाएको जस्तो देखिएको छ । यही गीत गाउने सुरेश गन्धर्वले हाम्रो प्रदेशलाई गौरन्वान्वित बनाएका रहेछन् भन्ने गीतको लोकप्रियताबाट बुझ्न सकिन्छ । तर, तिनै जमानामा चलेका गायक गन्धर्व सामन्य रोग लाग्दै अस्पताल पुग्न नसक्ने अवस्थामा पुग्नु दुखद् हो ।

हामीले यो संस्कृतिबाट नेपालको संस्कृतिक र संगीतको विविधतालाई संसार चिनाएर पर्यटक भित्र्याउने एउटा राम्रो माध्यम पनि बनाउन सक्ने अवस्थामा छौँ । साच्चै भन्ने हो भने लोपोन्मूख गाइने गन्धर्वका इतिहास र तिनीहरुका परम्परा र शीपलाई संरक्षण गर्न सक्यौं भने ठुलोमात्रामा हामीले फड्को मार्न सक्छौँ । प्रदेश १ को सन्दर्भमा भन्ने हो भने यसले यो प्रदेशको सांस्कृतिक विविधता मात्र हैन्, प्रदेशकै पहिचान पनि झल्काउँछ । गाइने गन्धर्वको माध्यमबाट हामीले सचेतना र जागरणका कार्यक्रमहरु पनि सञ्चालन गर्नसक्छौँ । तर, हामीले त्यसलाई सहि ढंगले पहिचान गर्न सकिरहेका छैनौँ । अघिल्लो आर्थिक वर्षमा नै प्रदेश सरकारले नीति र कार्यत्रममा ‘प्रदेशका गाइने गन्धर्वहरुलाई प्रदेशको समृद्धिसँग जोड्ने प्रदेशको भाषिक, संस्कृतिक र भौगोलिक चिनारी झल्किने गीत गाउन, बजाउन प्रोत्साहन गर्दै उचित पारिश्रमिक दिई अन्य प्रदेशमा समेत पठाइनेछ ।’ भन्ने उल्लेख छ ।

सुरेश जस्ता चलेका गायक उपचार गर्न नपाउँदा वर्षौदेखि गुमनाम भएर बस्नुपर्ने अवस्थाले अरु धेरै गन्धर्वहरुलाई यो पेशा छोडेर मरुभूमितिर जान बाध्य पार्ने नै भयो । प्रदेश सरकारले प्रदेशको पहिचान झल्काउने, चिनारी भएका गीतहरुलाई गाउन, बजाउन प्रोत्साहन गर्ने भनिरहँदा दशकौं अघि नै अमर गीत गाएका सुरेशलाई प्रदेश सरकारले चिन्न नसक्नुको पीडा नेपाली मौलिक भाषा, संस्कृति र संगीतले लामो समयसम्म भोग्नुपर्ने हुनसक्छ । सुरेश अहिले आर्थिक समस्याले जेलिएर उपचार गर्न सकिरहेका छैनन् । अस्पतालमा भर्ना भइरहँदा यसको नेतृत्वको गर्ने तालुकदार मन्त्री वेखबर जस्तै छन् । कुनै दलको सामान्य अमुक कार्यकर्ता भएको भए अस्पतालमा लर्काे मात्रै लाग्दैनथ्यो । सरकारी निर्णयबाट लाखौं रुपैयाँ तिनलाई दिइनेथियो ।

नीति तथा कार्यक्रममार्फत् लगाइएको यो विषयलाई यतिखेर सुरेश गन्धर्वलाई सहयोग गरेर एउटा अभियान चलाउन सके हाम्रो प्रदेशको गौरव हुने थियो । यस्ता विषयलाई सम्झिने हो भने मन्त्रीज्यूको गफ मात्रै हो कि भन्ने अनुभूति हुन्छ । विभिन्न अध्ययन कार्यदल बनाएर प्रदेशमा रेकर्ड नै बनाउन सफल सामाजिक विकास मन्त्रालयको यस्ता प्रतिवेदनहरुले सुरेश गन्धर्वजस्तालाई कसरी सम्झिरहेको छ ? मननै चसक्क हुन्छ ।

ओझेलमा परेका लोपोन्मूख जातजाति मात्रै हैन, एउटा सिंगो भाषिक र संस्कृतिक अभियानमा उत्साह हुने थियो । यसतर्फ सरोकारवालाहरुको ध्यान जाओस् । खास गरेर प्रदेश सरकारको तालुकदार मन्त्रालयले सुरेश गन्धर्वजस्ता कलाकारलाई पनि चिन्न सकोस् । अन्तिममा सुरेश गन्धर्वको स्वास्थ्यलाभको कामना ।

Supported only between 1944-2022