विराटनगर । देशमै पहिलो पटक प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले पारामेडिकल भवन निर्माण गर्ने भएको छ । भवनको बिहीबार शिलान्यास गरिएको छ ।
मेडिकल संकायतर्फको विज्ञान प्रयोगशाला, पब्लिक हेल्थलगायतका विभिन्न प्रयोगात्मक विषयहरुको स्नातक र स्नातकोत्तर तहमा पठनपाठन गराउनका लागि अलग्गै पारामेडिकल भवन बनाउन लागेको हो ।
कुल १२ करोड ३१ लाख रुपैयाँमा निर्माण हुने चार तले भवनको बिहीबार विश्वविद्यालयका कुलपति तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभयो । बुढीगंगा गाउँपालिका ४ स्थित मनमोहन विश्वविद्यालयको परिसरमै बन्न भवन समयमै सम्पन्न हुने र गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता मुख्यमन्त्री राईले व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री राईले प्रदेशमा मात्र नभएर देशभरिका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्रदेश १ सरकारले कानून बनाएर प्राविधिक विश्वविद्यालय स्थापना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशलाई अब भनिखाने हैन गरिखाने जनशक्तिको खाँचो छ, यसैले हामीले त्यो खाँचो पुरा गर्न प्राविधिक विश्वविद्यालयमा लगानी गरेका हांै ।’
८० फिट चौडाई र २५० फिट लम्बाई भएको चारतले भवन विराटनगरको निर्माण कम्पनी पिएस जेभीले दुई वर्ष भित्रमा सम्पन्न गरिसक्ने गरे ठेक्का लिएको विश्वविद्यालयका प्रमुख डा. सुभाषश्री पोखरेलले जानकारी दिनुभयो । प्राविधिक विश्वविद्यालयका सहकुलपति तथा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले आगामी शैक्षिक सत्रदेखि विभिन्न प्राविधिक विषयमा स्नातक र स्नातकोत्तर तहमा प्राविधिक विषयको पठनपाठन गराउने गरि विश्वविद्यालयले आन्तरिक तयारी गरिरहेको जानकारी दिनुभयो ।
प्राविधिक विश्वविद्यालयका प्रमुख पोखरेलले आगामी आर्थिक वर्षको आसोजदेखि सिभिल इलेक्ट्रिसियन विषयको तहमा पानी जहाज र रेल्बे इन्जिनियरिङको पढाई सुचारु हुने जानकारी गराउनुभयो । उहाँले अनुसार मनमोहन विश्वविद्यालयले आगामी दश वर्षभित्र विभिन्न प्राविधिक विषयमा विद्यावारिधि गराउने गरि प्रक्रिया बढाउने पनि बताउनुभयो ।