प्रदेश १ मा थप चार संक्रमितको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एक जना, मोरङको रतुवामाइका एक जनाको होम आइसोलेसनमा र झापाक दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मोरङको लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि मंसिर ९ गते मंगलबार उपचारका लागि वृद्धलाई भर्ना गरिएको थियो । श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्यापछि अस्पतालमा भर्ना गरिएका उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

त्यस्तै रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ । रतुवामाई नगरपालिकाका मेयर रविन राईका अनुसार मंसिर १ गते कोरोना पुष्टि भएपछि घरमा बसिरहेका वृद्धको राति १० बजेतिर मृत्यु भएको हो । मृतकमा मृगौलासम्बन्धी पुरानै समस्या रहेको बताइएको छ ।

उता झापाको विर्तामोडका एक जना र शिवसताक्षीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विर्तामोड नगरपालिका–८ का ७२ वर्षीय र शिवसताक्षी ९ का ७२ पुरुषको मृत्यु भएको हो ।

विर्तामोडका बृद्धको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो । मंसिर ७ गते पीसीआर परीक्षण गराएका उनको रिपोर्ट ८ गते पोजेटिभ आएको थियो ।

यस्तै शिवसताक्षीका बृद्धको बिएण्डसी हस्पिटल बिर्तामोडमा बुधबार राति मृत्यु भएको छ । उनलाई मंसिर ७ गते कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहिबार, ११ मंसिर, २०७७, साँझको ०५:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर