विराटनगर । सरकारले कोही पनि जनता उपचार नपाएर मर्नुनपर्ने बताइरहेको छ । तर, भोजपुर षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७५ वर्षीय रामबहादुर राईको भने दयनिय अवस्थाका कारण मर्नु न बाँच्नु अवस्थामा पुगेका छन् ।
दशैं अगाडिदेखि सामान्य बिरामी भएका उनको अहिले स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले स्लाइन पानी लगायत प्राथमिक उपचार गरिरहेको छ । तर उनको ओड्ने खास्टोबाहेक ओछ्याउने तन्ना पनि छैन । राईलाई परालमा राखेर स्लाइन पानी दिएको फोटो सामाजिक अभियान्ता झकिन्द्र खतिवडाले सामाजिक संजाल फेसबुकमा राख्नुभएको छ ।
खार्तम्छा जनस्वास्थ्य चौकीका हेल्थ असिस्टेन तारानाथ भट्टराईले वृद्धा राईलाई घरबाट छिमेकी बोधिमाया तामाङको घरछेउको कटेरोमा सारेर उपचार गरिरहेको जानकारी दिनुभयो । ‘अहिले फोटोमा देखिएको अवस्था भनेको हामीले सुधार गरेर, खिचेका हौं,’ भट्टराईले भन्नुभयो, ‘उनको खास घरको अवस्था यस्तो पनि छैन, धेरै कमजोर अवस्था छ ।’
राईको एक जना छोरा छन् । तर, उनी पनि सुस्त मनस्थितिको भएको भट्टराईले बताउनु भयो । उपचार पछि अहिले स्वास्थ्यमा केही सुधार आएको भएपनि जोखिम नटरेको उहाँले बताउनु भयो । कुनै राम्रो संस्थाले लगेर रेखदेख गर्ने व्यवस्था मिलाउनु पर्ने स्थानीयको माग छ । अभियान्ता खतिवडाले आफ्नो नेतृत्वको भोजपुर सेवा समाज इजरायलले केही सहयोग गर्न चाहेको बताउनु भएको छ । राईको उपचारको सहयोगका लागि वडा कार्यालयले भने केही सहयोग गरेको भट्टराईले बताउनु भयो ।
प्रतिक्रिया