खोला छेउमा ढुंगागिटीको अबैध कारोवार

विराटनगर । मोरङमा अनुमति नलिई ढुंगागिटीको उत्खनन् तथा कारोबार हुने गरेको पाइएको छ । गैरकानूनी रूपमा खोला छेउमा ढुंगागिट्टी थुपारेर खुलारुपमा बिक्री गर्ने गरेको अनुगमनका क्रममै भेटिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको प्राविधिकसहितको टोलीले अनुगमन गर्दा केराबारी, लेटाङ्ग र बेलबारीमा खानीजन्य वस्तुको अवैध कारोबार पहिचान भएको हो ।

मोरङका पाँच वटा स्थानीय तहमा २१ वटा क्रसर उद्योग सञ्चालनमा छन् । कानून बमोजिम दर्ता भएर चलेका ती उद्योगहरुले स्टक प्रमाणित गरेर कारोवार गर्ने गरेका भएपनि स्थानीय स्तरमा धेरैले अवैधरुपमा ढुंगागिटी थुपारेर कारोवार गर्ने गरेको पाइएको छ ।

प्रजिअसहितको टोली मंगलबारबाट क्रसर उद्योग र खोला अनुगमनमा निस्किएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता ध्रुबबहादुर खड्काले जानकारी दिनुभयो । पहिलो दिन प्राविधिक टोलीले केराबारी, लेटाङ्ग र बेलबारीमा सञ्चालित क्रसरको अनुगमन गरेको थियो । बेलबारीको ५, केराबारीको ३ र लेटाङ्ग नगरपालिकामा रहेको ३ वटा गरि ११ वटाको अनुगमन गरेपछि अन्य स्थानीय तहमा रहेको क्रसरहरूको अनुगमन हुनेछ ।

आगामी तीन दिनसम्म प्राविधकसहितको टोलीले अनुगमन सकेर प्रतिवेदन सार्वजानिक गर्ने बताइएको छ । ‘पहिलो दिनको अनुगमनका क्रममा बेलबारी, लेटाङ्ग र नगरपालिकाको केही ठाउँमा अनुमति पाएको क्रसरबाहेक पनि ढुंगागिट्टीको स्टक संकलन गरिएको जनप्रतिनधी र स्थानीयसँगको छलफलको क्रममा गुनासो आएको छ,’ सहायक प्रजिअ खड्काले भन्नुभयो, ‘त्यस ठाउँमा प्राविधकसहितको टोलीले अनुगमन गर्ने काम भइरहेको छ । कतै अनुपति पाएका उद्योगभन्दा बाहिरका व्यक्तिले ढुंगागिट्टीको स्टक संकलन गरिएको देखिएको छ ।’

अनुमति नलिएकाहरुले खोलाहरूबाट ढुंगागिट्टी उत्खनन गरि स्टक गरिएको भेटिए कारवाही गर्ने प्रशासनले जनाएको छ । मोरङका सबै क्रसर उद्योगको अनुगमनपछि मापदण्ड विपरित अबैधढंगले सञ्चालन भएका र अनुमतिभन्दा धेरै प्राकृतिक स्रोत उत्खनन गरेको भेटिए क्रसर उद्योगहरुलाई कारवाहीको दायरमा ल्याउने प्रशासनको भनाइ छ ।

मोरङका क्रसर र ढुंगागिट्टी उत्खनन्को समस्या वर्षाैदेखि छ । स्थानीय पीडितहरुले हरेक वर्ष मापदण्ड विपरित खोलाबाट उत्खनन् गरेर वातावरणीय विनास निम्त्याएको भन्दै क्रसर उद्योगलाई व्यवस्थित गराउन ज्ञापनपत्र बुझाउने, धर्ना दिने, रिले अनसन बसेर सरकार गुहार्ने गरेका छन् । तर, क्रसर उद्योगी र प्रशासन भने ‘काग कराउँदै गर्छ, पिना सुक्दैगर्छ’ भन्ने नीति लिएर दोहनमा सक्रिय छन् ।

क्रसर उद्योगीहरुले स्थानीय राजनीतिक दल, कर्मचारी र जनप्रनिधि सबैलाई सहजै प्रभावमा पारेर तोकिएको मापदण्डभन्दा बढि उत्खनन गर्ने गरेको छन् । मापदण्ड अनुसार क्रसर उद्योगहरु राजमार्ग र खोला किनारबाट पाँच किलोमिटर, हाइटेन्सन लाइनबाट एक किलोमिटर दुरीमा हुनुपर्दछ ।

यसैगरि शिक्षण, स्वास्थ्य, संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्ती र खेतीयोग्य जमिनबाट दुई किलोमिटर दुरीमा हुनुपर्दछ । मोरङमा सबैभन्दा बढि सुन्दरहरंैचा र बेलबारीमा रहेको छ । ती स्थानीय तहमा ५÷५ वटा क्रसर उद्योग छन् । यस्तै उर्लाबारीमा ४, केराबारी, लेटाङ्गमा ३÷३ वटा र कानेपोखरीमा एउटा क्रसर उद्योग छन् ।

मंसिर १०, २०७७, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर