विराटनगर । पहिलो पटक १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सँगै खिचेको फोटो सार्वजनिक भएको छ ।
आर्थिक मामिला मन्त्री आङ्बोले मुख्यमन्त्री राईसँग सोलुखुम्बुको लुक्ला बिमानस्थल र स्याङ्बोचेको अन्नपूर्ण होटेल भ्यूबाट खिचाएका केही तस्बिर सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्दै ‘द लङ रेस हर्स अफ हिज डेस्टीन’ अर्थात् आफ्नो भाग्यको लामो दौडमा घोडा भन्ने क्याप्सन उल्लेख गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढीरहेका बेला फरक–फरक धारका दुई नेताले सँगै तस्बिर हालेपछि विभिन्न अड्कल काट्न सुरु भएको छ । ‘यसअघि कहिल्यै पनि मुख्यमन्त्रीज्यूसँग फोटो खिचाएको रहेनछ, यस पटक अवसर जुरेर खिचाएको हो,’ मन्त्री आङ्बोले भन्नुभयो ।
दुई नेताले खिचाएको तस्बिरमा सुन्दर दृश्यसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा पनि देख्न सकिन्छ ।