दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बेलबारी ७ बस्ने ३७ वर्षीय नविन पौडेलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बेलबारी ४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १–०२–०४२ प ४२१६ नम्बरको मोटरसाईकल र को ३९ प ३८०१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक नविन पौडेल गम्भीर घाइते भएका थिए ।

घाइते भएका पौडेलको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै मोटरसाईकलमा रहेका अन्य तीन जनासमेत घाइते भएकोमा उनीहरुको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरि मोरङ पथरी शनिश्चरे २ स्थित राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मंगलबार बेलुका पौने ७ बजे को १ ख ६८३१ नम्बरको बसले मे ८ प ६३७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक झापा मेची नगरपालिका ९ बस्ने ३२ वर्षीय मुकेशप्रसाद पौडेल गम्भिर घाईते भएका थिए । उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक सञ्जय साह नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसैगरि मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकमा गुडिरहेको सिटी सफारीबाट लडेर मंगलबार दिउँसो चालकको मृत्यु भएको छ । विराटनगरबाट मिलनचोकतर्फ जाँदै गरेको को २ ह ५४९२ नम्बरको सफारीबाट अचानक लडेर चालक विराटनगर महानगरपालिका–२ का ३५ वर्षीय सुनिल मण्डलको मृत्यु भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार दिउँसो २ बजेतिर घटना भएका बेला सफारी भने खाली थियो । एक्कासी शरीर भुइँमा ढलेपनि उनको खुट्टा सफारीमै अड्किएको थियो । अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको बताइएको छ ।

घटनापछि उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताउँदै आफन्तले शवको पोस्टमार्टम गर्न आवश्यक नरहेको भनेर प्रहरीलाई अवरोध गरेका छन् ।

यसैबीच मोरङको उर्लाबारी नगरपालिका–८ स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको अटो टेम्पोले दक्षिणतर्फ जाँदै गरेको को १२ प १२५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोमबार राति भएको दुर्घटनामा रतुवामाई नगरपालिका–५ का ३५ वर्षीय भोजकुमार खड्का र ३४ वर्षीय प्रकाश माझी घाइते भएका छन् । घाइतेमध्ये खड्काको अवस्था गम्भीर छ । दुवै घाइतेको गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ ।

मंसिर ९, २०७७, साँझको ०६:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर