विराटनगर । भारतदेखि तस्करी गरि ल्याएको औषधी बरामद गरेपछि फरार भएका एक जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्करी गरि ल्याएको औषधी विराटनगर – १३ का ३५ वर्षीय नरेश यादवको घरमा भण्डारण गरेको अवस्थामा प्रहरीले सोमबार राति बरामद गरेको थियो ।
औषधी व्यवस्था विभागमा दर्ता नभएको चार कार्टुन विभिन्न नाम गरेको औषधी मोरङ प्रहरीले बरामद गरेपछि यादव फरार थिए । प्रहरीले मंगलबार दिउँसो विराटनगरबाट उनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
यादवको घरबाट विभागमा दर्ता नभएको औषधीहरू बरामद भएपछि सोधपुछको लागि नियन्त्रण लिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । ‘मोरङ प्रहरी कार्यालयमा ल्याएर यादवलाई सोधपुछ भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अवैध रूपमा यति धेरै औषधी कहाँबाट ल्याए भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
भारतदेखि तस्करी गरि यादवले घरमा राखेको मोरङ प्रहरीलाई विशेष सूचना पाएपछि सिआरबी जतुवाको टोलीले छापा मारेको थियो । प्रहरीले यादवको घरदेखि ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन’ रहेको चार कार्टुन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको दुवै इन्जेक्सन औषधी व्यवस्था विभागमा दर्ता छैन ।
मिथाइकल प्रिडनीसोलोन इन्जेक्सन भारतबाट तस्करी गरि नेपालमा ल्याउँदा महंगो मुल्यमा विक्री हुने गरेको यस क्षेत्रका जानकाहरू बताउँछन् । सो इन्जेक्सन २ देखि २ हजार ५ सय रुपैयाँ प्रतिगोटा बिक्री हुने गरेको बुझिएको छ ।
तस्करी गरि ल्याएको औषधीको विषयमा औषधी व्यवस्था विभाग विराटनगरले पनि अनुसन्धान गर्ने भएको छ । यादवले विराटनगरका केही फार्मेशीले मगाएको औषधी तस्करी गरि ल्याएको प्रहरी स्रोतको दाबी छ । बरामद औषधी विराटनगरको दक्षिण क्षेत्रमा रहेका फार्मेशीको रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
‘भारतदेखि तस्करी गरि ट्याक्टरमा औषधी ल्याएको विशेष सूचना आएपछि प्रहरीले निगरानी बढाएको थियो,’ सुरक्षा स्रोतले भन्यो, ‘यादवले फार्मेशीले मगाएको ठाउँमा तस्करीको औषधी पु¥याएवापत निश्चित रकम दिने गरेका रहेछ ।’ बालुवा, गिटीको कारोबारसमेत गर्दै आएका यादवको ट्याक्टरमा मुनिबाट औषधीको कार्टुन र माथिबाट पराल राखेर ल्याइएको थियो ।
औषधी समात्ने प्रहरीलाई गालीगलौज
प्रहरीले छापा हानेर औषधी बरामद गरेपछि मोरङ प्रहरीबाट खटिएको सिआरबी जतुवाका असई रामकुमार यादवलाई फोन गरि नरेशले गालीगलौज गरेको प्रहरीले जनाएको छ । औषधी बरामद गरेपछि सोमबार राति साढे ११ बजेको समयमा नरेशले फोन गरि असई यादवलाई गालीगलौज गरेका थिए ।
विभागको अनुगमन
मोरङ प्रहरीले तस्करीको औषधी बरामद गरेपछि औषधी व्यवस्था विभाग विराटनगरले केही फार्मेशीमा अनुगमन गरेको छ । मंगलबार दिउँसो विराटनगर १५ मा रहेको जीतु मेडिको फार्मेशीमा अनुगमन गरेको थियो । विभागबाट गएको टोलीले जीतु मेडिकोबाट कुनै त्यस्तो अवैध सामान नभेटाएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरले जनाएको छ ।
तस्करीको औषधी ल्याएर विक्री वितरण गर्ने गरेको आशंकामा विभागले केही फार्मेशीमा अनुगमन गरेको हो ।