विराटनगर । मोरङको पथरीस्थित तात्कालिन गाउँ विकास समितिका पूर्वअध्यक्ष तिलक वान्तवा राईको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा ६६ वर्षीय राईको मंगलबार विहान मृत्यु भएको हो ।
अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार पथरीशनिश्चरे नगरपालिका–१ निवासी राईलाई कात्तिक २१ कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा स्वास्थ्यमा सुधार भएपछि घर फिर्ता गरियो ।
घरमै आराम गरिरहेको अवस्थामा पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विराटमा ५ दिन अगाडि भर्ना गरिएको अस्पतालले जनाएको छ । २०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित भएका राई पछिल्लो समय सामाजिक गतिविधीमा सक्रिय थिए।
राईका एक श्रीमती, चार छोरी र दुुई छोरा छन् । जसमध्ये दीपक राई नेपाली फुटबलका राष्ट्रिय खेलाडी हुन्।