विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका १ स्थित नरग्राम नमुना माध्यामिक विद्यालयले सोमबारदेखि विद्यार्थीहरुलाई भौतिकरुपमै उपस्थित गराएर पठनपाठन सुचारु गर्ने भएको छ ।
आइतबार एक सूचना प्रकाशित गरेर विद्यालयले मंसिर ८ गतेदेखि आांशिक रुपमा र मंसिर १७ गतेदेखि पूर्णरुपमा अध्ययन अध्यापनलाई सुचारु गर्ने जनाएको हो ।
कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेको शिक्षण सिकाई क्रियाकलाप स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्ने भन्दै सबै शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराएको छ ।
सोमबार बिहान ६ बजेदेखि १० बजेसमम नेपाली माध्यम र दिउँसो ११ बजेदेखि ३ बजेसम्म अंग्रेजी माध्यममा पढाई हुने विद्यालयले जनाएको छ । सोमबार बिहानी सक्रमा कक्षा ८ देखि ११ सम्म नेपाली माध्यममा पढाई हुने छ ।
यस्तै दिवाशत्रमा बिहान ११ बजेदेखि नर्सरी, केजी देखि कक्षा १० सम्मकै पढाई सुचारु हुने जानकारी दिइएको छ । नेपाली माध्यमका बिहानी सत्रका बालकक्षा देखि कक्षा ७ सम्मका विद्यार्थीलाई भने मंसिर १७ गतेदेखि पठनपाठन गराइने प्रधानाध्यापक भीमबहादुर बस्नेतले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।
बुढिगंगा गाउँपालिकाको प्रधानाध्यापकहरुको बैठकले गाउँपालिकाका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले विद्यालयहरु क्रमैसँग सञ्चालन गर्दै जाने निर्णय गरेको बताइएको छ ।