विराटनगर । एक राउण्ड हवाई फायर गरेर प्रहरीले भारतदेखि अवैध रूपमा तस्करी गरि ल्याएको सामान र तस्करीमा लागेको गिरोहलाई पक्राउ गरेको छ ।
तस्करी गरेर भारतबाट ल्याइएको सामान नियन्त्रणमा लिन प्रहरीले विराटनगर –१७ मटेरुवामा आइतबार बिहान हवाई फायर गरेको हो । हवाई फायर गरेर भारतदेखि तस्करी गरि ल्याएको एक बोरा बेल्ट(पेटी) र तस्करीमा संलग्न विराटनगरकी ३३ वर्षीय रविना खातुनलाई प्रहरीले नियन्त्रणमा छ । भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा बिहान ४ बजेतिर अवस्था तनावपूर्ण बनेको थियो ।
दुई जना सादा पोशाकमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर एक दर्जन बढीको संख्यामा रहेका तस्करको समूहले अवरोध पु¥याएपछि एक राउण्ड हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
‘तस्करीको सामान ल्याएको जानकारी आएपछि सादा पोशाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोजिएको थियो,’ एसपी खड्काले भने, ‘हुलहुज्जत गरि प्रहरीमाथि जाइलागेपछि एक राउण्ड हवाई फायर भएको हो ।’ हवाई फायर गरेपछि तस्कर समूह तितरवितर भएको जानकारी खड्काले दिए । पक्राउ परेकी महिलाविरुद्ध कारबाही अघि बढाउन थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । फरार भएकाहरूको पनि प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।
प्रहरी र तस्कर समूहबीच भएको दोहोरो घम्साघम्सीका क्रममा एक जना प्रहरी जवानको हातको औंलामा चोट लागेको बुझिएको छ ।