एफएनसीसीआईको केन्द्रीय सदस्यमा राउत सर्वसम्मत

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका उद्योगी राजेन्द्र राउत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
प्रदेश १ का तर्फबाट उम्मेदवारी दिनुभएको राउत केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

सात प्रदेशबाट एक एक जना केन्द्रीय सदस्य निर्वाचित हुने विधानको व्यवस्था बमोजिम प्रदेश १ बाट उद्योगी राउतको मात्र उमेदवारी दर्ता भएको थियो । बिहीबार अपरान्ह ५ बजेसम्म उमेदवारी दर्ता गराउने समय रहेको प्रदेश कोटामा सबैले राउतलाई नै समर्थन गर्दै अरु कसैले पनि उमेदवारी नदिएपछि उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । यद्यपी राउत सर्वसम्मत निर्वाचित हुनुभएको औपचारिक घोषणा भने निर्वाचन समितिले गरिसकेको छैन ।

राउत नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ कमिटीका उपाध्यक्षसमेत हुनुहुन्छ । यस अघि नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ ब्यापार संघको कार्य समिति सदस्य हुंदै वरिष्ठ उपाध्यक्ष भइसक्नु भएको छ ।
उद्योगी राउतले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको थियो । अन्य पदमा भने चुनाव हुनेछ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का छ भने बाँकी पदहरुमा चुनाव हुँदैछ । आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिदैछन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

बिहिबार, ०४ मंसिर, २०७७, साँझको ०६:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर