छठ घरमै सिमित हुने, जलाशयमा भीड गर्न रोक

विराटनगर । कोरोना महामारीका कारण दशैं र तिहार जस्तै यसबर्ष सुर्य उपासनाको महानपर्व छठ पनि प्रभावित हुने भएको छ ।

कोरोना महामारीका कारण जलाशयमा गएर छठपर्व मनाउन सुरक्षित नभएपछि स्थानीयले यसबर्ष घरघरमै छठपर्व मनाउने तयारी थालेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले भीडभाडरहित छठपर्व मनाउन आग्रह गरेपछि स्थानीयले यसबर्ष घरमै छठपर्व मनाउने तयारी थालेका छन् । उनीहरुले घरघरमै कृत्रिम पोखरीको निमार्ण गरि छठपर्व मनाउने तयारी थालेका हुन् । यही मङसिर ४ गतेदेखि सुर्य उपासनाको महानपर्व छठ सुरु हुँदैछ । यसबर्ष मङ्सिर ४ गते नहाय खाय, ५ गते अस्ताउँदो र ६ गते उदाउँदो सुर्यलाई अर्घ दिईने कार्यक्रम परेको छ । गत कात्र्तिक २७ गते एक सुचना जारी गर्दै मोरङ प्रशासनले आवश्यक स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्दै छठपर्व मनाउन सम्पुर्ण मोरङबासीलाई आग्रह गरेको थियो । प्रशासनको आग्रह बमोजिम यसबर्ष घरमै छठपर्व मनाउने तयारीमा जुटेको विराटनगर–७ निवासी अजय मण्डलले बताउनुभयो । उहाँले घर छेउमा रहेको खाली जग्गामा कृत्रिम पोखरीको निमार्ण गरि पुर्ण आस्था र विश्वासका साथ छठ मनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

यसपटक अन्य बर्षहरु झैं छठपर्व मनाउन रोक लगाईएपछि विराटनगर भएर बग्ने सिंघिया खोला, केशलिया खोला र मोरङ सुनसरी सिँचाई आयोजना अन्तर्गतको नहर क्षेत्र पनि सुनसान देखिएको छ । भाईटिकाको भोलिपल्ट सम्बन्धित जलाशयहरुमा घाट बनाउने क्रियाकलापमा होमिने गरेका स्थानीयहरुले यसबर्ष घरमै छठ मनाउने निधो गरेपछि जलाशयहरुको रौनकता समेत गुमेको छ ।

कोरोना महामारीको फैलिदो संक्रमण र बढ्दो जोखिमले गर्दा यसबर्ष जलाशयहरुमा अन्य बर्षहरु झैं जमिन सुम्सुम्याउने, केराको थम्बा गाड्ने, सजावट गर्ने, टेन्ट तथा पाल लगाउने र भीडभाड गर्ने लगायतका क्रियाकलापहरु गर्न नदिईने जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खडकाले बताउनुभयो ।

यद्यपि घरमै छठपर्व मनाउन नसक्नेहरुका लागी बढी भीडभाड नगरि आवश्यक सुरक्षा मापदण्ड अपनाएर सम्बन्धित जलाशयमा गएर अर्घ दिन पाउने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी उपरीक्षक सन्तोष खडकाले बताउनुभयो । उहाँले यसबाहेकका अन्य सबै क्रियाकलापहरुमा रोक लगाईएको जानकारी दिँदै सो को व्यवस्थापनका निम्त्ति प्रशस्त प्रहरी परिचालन गरिने उल्लेख गर्नुभयो ।

कोरोना महामारीका कारण प्रदेश नं. १ मा हालसम्म २ सय ९३ जनाको ज्यान गईसकेको छ भने २४ हजार ७६ जना संक्रमित भईसकेका छन् । चाडपर्व बिशेषमा आवश्यक सुरक्षा सर्तकता अपनाउन सकिए यस महामारीको जोखिमबाट बच्न सकिने मोरङ प्रशासनको बुझाई रहेको छ ।

बुधबार, ०३ मंसिर, २०७७, दिउँसोको १२:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर