भ्याक्सिन तयार हुनसाथ ल्याउँछौंः स्वास्थ्यमन्त्री

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि भ्याक्सिन विश्व बजारमा तयार हुनेबित्तिकै आयात गर्न सरकारले अध्यादेश तयार गरेको बताउनुभएको छ ।

विराटनगरस्थित कोशी अस्पताल र कोशी कोभिड उपचार केन्द्रको बिहीबार निरीक्षण गर्दै मन्त्री ढकालले भ्याक्सिन आयत गर्न कानूनी प्रक्रिया सहज बनाउन अध्यादेश तयार गरेकोले यसको सफल परीक्षण भएपछि नेपालमा ल्याउने बताउनुभयो ।

औषधी उत्पादन गर्ने राष्ट्रहरुले भ्याक्सिन प्रयोग गर्दा नेपालमा पनि प्रयोग गर्न सकियोस् भन्ने उद्देश्यले सरकारले औषधी आयतका बाधा अड्चनहरू हटाउन अध्याधेश तयार गरेको मन्त्री ढकालले जानकारी दिनुभयो । अहिले विभिन्न मुलुकमा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेकोले प्रयोगको अनुमति आएपछि आयातको पहल अगाडि बढ्ने उहाँको भनाइ छ ।

मन्त्री ढकालले भ्याक्सिनको आवस्यक व्यवस्थाको निम्ति राज्यकोतर्फबाट पहल गरिने बताउनुभयो । स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको अभाव र यसलाई स्तरीय बनाउन वर्तमान सरकारले ६ हजार २ सय २ बेड अस्पतालमा थप गरेको जानकारी दिँदै उहाँले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवश्यक भेन्टिलेटर र अक्सिजन बेड पनि पनि थप्ने काम भएको दावी गर्नुभयो ।

‘कोरोनाको औषधी र भ्याक्सिन आइनसकेकोले अहिले आवश्यक पर्ने अक्सिनजसहितको वेड विस्तारमा सरकार लागिपरेको छ’ मन्त्री ढकालले भन्नुभयो, ‘विरामीहरूमा गम्भीर समस्या देखिनुभन्दा अगाडि अक्सिजन दिन सकियो भने स्वास्थ्यमा सुधार हुने भएकोले सरकारले देशभरीमा ३ हजार ५ सय अक्सिजनसहितको बेड थप गरेको छ ।’ उपत्यकामा २ हजार र १ हजार ५ सय अन्य जिल्लाहरुमा अक्सिजन बेड थप गरेको उहाँले दावी गर्नुभयो ।

प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानीय तहसँगको समन्वयमा होम आइसोलनमा बसेका संक्रमितहरुलाई मनोसामाजिक परामर्श र स्वास्थ्यमा अफ्ठेरो पर्दा तुरुन्त अस्पताल पु¥याउने संयन्त्रको विकास गरिएको मन्त्री ढकालले बताउनुभयो । होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई भरयरहित वातावरणमा बस्ने र सरकारको कोभिड अस्पतालहरुबाट उन्नत स्तरको सेवा दिने कामहरू भइरहेको उहाँको दावी छ ।

मन्त्री ढकालले कोशी अस्पताललाई प्रदेश १ को नमूना अस्पतालको रूपमा विकास गर्न त्यसतर्फ सबै लाग्नुपर्ने जोड दिनुभयो ।

बिहिबार, २७ कार्तिक, २०७७, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर