तिहार नजिक आउँदा सुनचाँदीको कारोबारमा सुधार

विराटनगर । तिहार नजिकिएसँगै प्रदेश नं. १ को राजधानी विराटनगरमा सुनचाँदीको व्यापार फस्टाएको छ । बजारमा चाडपर्व लक्षित अन्य सामाग्रीहरुको व्यापारमा कमी आएपनि सुनचाँदीको व्यापार भने सन्तोषजनक ढङ्गले भईरहेको व्यापारीहरुले बताएका छन् ।

दशैं सकिएर तिहार नजिकिँदै गर्दा विराटनगरमा सुनचाँदीको व्यापारले गति लिएको हो । कोरोना महामारीको प्रभावस्वरुप लामो समयको लकडाउन र निषेधाज्ञामा ठूलो नोक्सानी व्यहोरेका सुनचाँदी व्यावसायीहरुले अहिले भने राहतको अनुभुति गरेका छन् ।

दशैंसम्म बजारमा सुनचाँदी खरिद गर्नेभन्दा बिक्री गर्ने ग्राहकहरुको बाहुल्यता रहेको थियो । तर, तिहारको मुखमा भने व्यापारले बिस्तारै गति लिँदै गएको विराटनगरस्थित महालक्ष्मी ज्वेलर्सका सञ्चालक विकास बेगबानीले बताउनुभयो । यद्यपि गएका वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतको हाराहारीमा मात्र व्यापार हुने अवस्था देखिएको उहाँको भनाई छ ।

व्यापारीहरुका अनुसार अन्य वर्ष बिशेषगरि तिहारको धनतेरशमा सबैले १ आना भएपनि चाँदीको सिक्का, चाँदीको दियो तथा भाँडाकुडा वा विभिन्न गरगहना खरिद गरेर लग्ने गर्दथे । तर, यो वर्ष अवस्था फरक रहेकाले बढी मूल्यका सुनचाँदीका गरगहना तथा सामाग्री बिक्री भएको छैन ।

कोरोना महामारीबीच पछिल्लो समय सुनचाँदीका दरभाउमा पनि उल्लेख्य मात्रामा बृद्धि हुँदा बजारमा सुनचाँदी खरिद गर्ने उपभोक्ताहरु पनि क्रमशः घट्दै गएका छन् । लकडाउनअघि ७५ हजार रुँपैया प्रतितोला रहेको सुनको मूल्य बिहीबार ९४ हजार ७ सय छ । यस्तै चाँदीको मुल्य पनि ९ सयबाट १ हजार २ सय २० रुपैयाँ प्रतितोला पुगेको छ ।

यतिबेला चाडपर्व र विवाह ब्रतबन्धको समय भएकाले पनि व्यापार केही आशलाग्दो देखिएको राठीको सुन पसलका सञ्चालक जुगलकिशोर राठीले बताउनुभयो । चीनबाट सुरु भएको कोरोना भाईरसको महामारीका कारण आर्थिक गतिविधि कम भएको र त्यसले सुनको मूल्य पनि आकाशिएको उहाँले जानकारी दिनुभयो ।

कोरोना महामारीले विश्व अर्थतन्त्रमा प्रभाव पारेपछि लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा मूल्य आकाशिएको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताउनुभयो । शेयर बजारमा जोखिम बढेपछि तुलनात्मक रूपमा सुरक्षित मानिएको सुनमा लगानी बढेकाले सुनको मूल्य निरन्तर उकालो लागेको व्यावसायीहरुको तर्क छ ।

कोरोना महामारीकै कारण लगानीका अन्य क्षेत्रहरु प्रभावित अवस्थामा हुँदा सुन सुरक्षित विकल्प भएकाले यसमा लगानीकर्ताको आकर्षण बढ्नु स्वाभाविक भएको विराटनगरका सुनचाँदी व्यावसायीहरुको बिश्लेषण छ ।

शुक्रबार, २८ कार्तिक, २०७७, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर