निजी ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ

विराटनगर । विराटनगरका दुईवटा प्रयोगशालाले एक व्यक्तिको एकैदिनमा कोरोना भाइरसको पीसीआर परीक्षणको रिपोर्ट फरक– फरक दिएपछि अन्यौल देखिएको छ । एकै दिन गरिएको परीक्षणमा विराटनगरको विराट मेडिकल कलेजको ल्याब र बी सियोर ल्याबको रिपोर्ट फरक–फरक आएको हो ।

दुई प्रयोगशालाले एकै व्यक्तिको फरक–फरक रिपोर्ट दिएपछि पीसीआर परीक्षण गर्नेलाई आपूm पोजेटिभ हो कि नेगेटिभ भन्ने अन्यौल भएको छ । मोरङको बुढीगंगा गाउँपािलका ४ हात्तिमुढाका ४३ वर्षीय उपेन्द्रकुमार रायको स्वाब परीक्षणको रिपोर्ट एउटा प्रयोगशालमा पोजिटिभ र अर्कोमा नेगेटिभ आएको हो ।

रायलाई कार्तिक २ गते ज्वरो र टाउको दुख्ने समस्या भएपछि ४ गते विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा कोरोना परीक्षणको लागि स्वाब दिएका थिए । स्वाब दिएको तीन दिनपछि उनको रिपोर्ट पोजेटिभ आयो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसे ।

स्वास्थ्य अवस्था सामान्य भएपछि होम आइसोलेशनमा बसेको ११ औं दिनमा रायले कात्तिक १७ गते विराटमा पुनः परीक्षणको लागि स्वाब दिए । त्यसको रिपोर्ट कात्तिक १८ गते पुनः पोजेटिभ आयो । उनको स्वाबको नमूना नम्बर ५४४५ रहेको छ । विराटको ल्याबले दिएको रिपोर्टमा रायको सिटी भ्यालु ३२ देखाएको छ । ११ दिन होम आइसोलेनमा बसेर गराएको परीक्षणमा पोजेटिभ देखाएपछि उनी पुनः ७ दिन आइसोलेनसमा बसे ।

कात्तिक २५ गते रायले पुनः विराटमा स्वाब दिए । स्वाब दिएको ५ घण्टापछि रिपोर्ट पुनः पोजेटिभ आयो । दोस्रो पटक आएको रिपोर्टमा सिटी भ्यालु झन् घटेको छ । रायको तेस्रो पटक गराएको रिपोर्टमा २७ सिटी भ्यालु रहेको छ । यो भनेको पहिलेको भन्दा संक्रमण विस्तार भएको मानिन्छ ।

स्वास्थ्यमा कुनै समस्या नभएपछि रायलाई तेस्रो पटक विराटमा आएको रिपोर्टमा शंका लाग्यो । उनले त्यसपछि विराटनगर ४ बरगाछीमा सञ्चालित बी सियोर ल्याबमा गएर सोही दिन पुनः पीसीआर परीक्षणको लागि स्वाब दिए । बी सियोर ल्याबले उनलाई नेगेटिभ रिपोर्ट दियो ।

‘दोस्रो पटक पुनःसंक्रमण देखिएपछि एक साता आइसोलेसनमा बसेर परीक्षण गर्न विराट मेडिकल कलेजको ल्याबमा गएको थिएँ,’ रायले भने, ‘तेस्रो पटकको परीक्षण रिपोर्ट पनि उसले पोजेटिभ दिएपछि शंका लागेर पुनः परीक्षण गर्दा नेगेटिभ आएको हो । आफूलाई स्वास्थ्यमा कुनै समस्या पनि नभएकोले पुनः चेक गर्दा नेगेटिभ रिपोर्ट आएको भएपनि कुन रिपोर्ट सहि हो भन्ने अन्यौल भएको उनको भनाइ छ ।

पिसिआर परीक्षणको लागि सरकारले अनुमति दिएका दुईवटा निजी प्रयोगशालाको रिपोर्ट फरक–फरक आएपछि झन् जोखिम बढेको छ । रिपोर्ट फरक आएकोले आइसोलेसन बस्ने कि नबस्ने अन्यौलमा परेको परीक्षण गराउने व्यक्तिहरू बताउँछन् ।

माइक्रोबायोलोजिष्ट विवेक तिम्सिनाले स्वाब संकलन गरेको समय, प्रक्रिया र परीक्षण गर्ने किटको आधारमा पनि कहिलेकाहीँ प्रयोगशालाहरूमा फरक–फरक रिपोर्ट आउनसक्ने बताउनुभयो । ‘घाँटी र नाकबाट लिने स्वाबको नमुनाको क्वालिटी टेस्ट नहुँदा पनि यस्तो समस्या हुने उहाँको भनाइ छ ।

शुक्रबार, २८ कार्तिक, २०७७, बिहानको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर