विराटनगर । कोरोना भाइरसको संक्रमणबाट मोरङमा पछिल्लो १२ घण्टाभित्र थप ५ जनाको मृत्यु भएको छ ।
दुई अस्पतालमा उपचाररत चार जना र उर्लाबारीमा होम आइसोलेसनमा बसेका संक्रमितको बुधबार रातिदेखि बिहीबार विहानसम्ममा मृत्यु भएको हो ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजको आइसोलेसनमा मात्रै तीन जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये झापा र सुनसरीका दुई महिला तथा मोरङका एक पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको छ। रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या देखिएपछि महिलालाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएकोमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो । आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी महिलाको तीन सातापछि मृत्यु भएको हो ।
त्यस्तै सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहान ८ः१० बजेतिर मृत्यु भएको छ । ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएकोमा पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थिययो ।
उता मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बुधबार बिहान ७ः३० बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा मृत्यु भएको हो । उनमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या थियो ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा झापाको दमक–६ की ४२ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर
मृत्यु भएको छ । अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान अस्पताल भर्ना गरिएकोमा पीसीआर परीक्षण गराउँदा दिउँसो रिपोर्ट पोजिटिभ आएको थियो ।
उता मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण देखिएपछि उनी घरमै होम आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ ।