पाँचथरका चार स्थानीय तहमा ‘प्रदेश सहयोग कार्यक्रम’

पाँचथर । स्विस सरकारको सहयोगमा पाँचथरको दक्षिणी क्षेत्रका चार गाउँपालिकामा प्रदेश सहयोग कार्यक्रम सञ्चालनमा आएको छ ।

जिल्लाको कुम्मायक, फाल्गुनन्द, मिक्लाजुङ र तुम्बेवा गाउँपालिकामा सो क्षेत्रबाट निर्वाचन प्रदेशसभा सदस्य एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा कार्यक्रम सञ्चालन भएको हो ।

प्रदेश र स्थानीय सरकारबीच रणनीतिक साझेदारी अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । ‘प्रदेश सहयोग कार्यक्रम’ अन्तर्गत साझेदारीका परियोजना छनोट गर्ने, विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै यसको कार्यान्वयन गर्ने रहेको छ ।

कार्यक्रमको लागि एकीकृत गाँउ विकाश रणनीतिक योजना तर्जुमा सम्बन्धि गोष्ठी फाल्गुनन्द र कुम्मायकमा सम्पन्न भएको छ । मिक्लाजुङ र तुम्बेवा गाउँपालिकामा तत्काल प्रशिक्षण शुरु गरि कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढाइने स्विस अन्तर्राष्ट्रिय विकास सहयोग (एसडीसी) प्रदेश सहयोग कार्यक्रमका प्रबन्धक बिष्णु पुरीले जानकारी दिनुभयो ।

फाल्गुनन्द गाउँपालिकाले आयोजना गरेको कार्यक्रम (एसडीसी)को वित्तीय सहयोग तथा गभर्नेन्स एण्ड डिजाइन सोलुसन (जिडिएस) नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो । कार्यक्रममा जिडिएसको तर्फबाट टिम लिडर सहजकर्ता विके महर्जन, कृषि अर्थशास्त्री ऋषिराम कट्टेल, योजनाविद् मण्डु अधिकारी, सहयोगी विनु लुईटलको टोलीले सहजीकरण गरेको थियो ।

दिर्घकालिन सोचसहित विषयगत रणनीतिक योजना, राजश्व सुधार, मध्यकालीन खर्च संरचनाको आवधिक योजनाबारे प्रस्तुतीकरण साथै पालिकाको वस्तु स्थिति (सवल⁄कमजोर) पक्ष, अवसर र चुनौती विश्लेष्ण समूह कार्य, समष्टिगत लक्ष्य, विषयगत उद्देश्य, रणनीति र प्रमुख कार्यक्रमको अवधारण प्रस्तुत गरिएको थियो । गाँउपालिकाको स्थानीय स्रोत संकलन टिममार्फत निर्माणधिन पाश्र्वचित्रको महत्वपूर्ण तथ्यांक र सुचना प्रस्तुत गरिएको थियो ।

गोष्ठीले “समृद्ध फाल्गुनन्दः कृषि,पर्यटन,पूर्वाधार र सु–संस्कृत समाज” को नारासहित ‘कृषिमा व्यावसायिकरण, पर्यटन प्रबर्द्धन, पूर्वाधार विकास र स्वच्छ वातावरण कायम गर्दै सर्वसुलभ गुणस्तरीय प्राविधिक शिक्षा र आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउने तथा सुशासनको प्रत्याभूति गरि समतामुलक र सु–संस्कृत समाज निर्माणतर्फ उन्मुख हुँदै दिगो विकासमा जोड दिने २५ वर्षको लक्ष्य निर्धारण गरेको छ । मध्यकालिन खर्च संरचनाका सूचक निर्धारण, गाँउ गौरव आयोजनाको पहिचान र सहमतिको गृहकार्य लगायत विषयवस्तुबारे तत्काल कार्यपालिकाको वैठक बसेर यसको ठोस निर्णय सम्वन्धित निकायमा पेश गर्ने गाउँपालिका प्रमुख वीरबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य आइन्द्रसुन्दर नेम्बाङले फाल्गुनन्द गाँउपालिका कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने स्थानीय तहमध्ये प्रवल संभावना रहेको बताउँदै । महागुरु फाल्गुनन्दको समाधिस्थल तथा तपोभूमि भएकाले यस ठाँउलाई पर्यटन प्रबर्द्धनको माध्यमबाट आर्थिक उन्नति गर्न सकिने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कुरुम्वाङले आगामी दिनमा प्राविधिक ज्ञानसहितको आवधिक योजना निर्माण गरिने बताउनुभयो । उत्पादनमूलक,आर्थिक विकास, पर्यटन प्रबर्द्धन गर्ने, जनताको जीवनस्तर माथि उठाउने, रोजगारी प्रबर्द्धन गर्ने, गरीबी न्यूनीकरण गर्न स्थानीय स्रोत साधनको अधिकतम उपयोग र भू(उपयोगलाई प्राथमिकता दिइने उहाँको भनाइ छ ।

स्बीस सरकारको सहयोगमा यो कार्यक्रम उदयपुर र संखुवासभामामा पनि सञ्चालनमा रहेको छ । स्थानीय तहको दीर्घकालीन सोच र पञ्बर्षिय आवाधिक योजना स्विस सरकारको सहयोगमा निर्माण हुनेगरि कार्यक्रम सञ्चालन भएको हो ।

बिहिबार, २७ कार्तिक, २०७७, बिहानको ११:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर