विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणको कारण ज्यान गुमाउनेमा आधाभन्दा बढि जेष्ठ नागरिक रहेको पाइएको छ ।
सोमबारसम्म प्रदेश १ मा २६३ जनाको कोरोनाबाट मृत्यु भएकोमा ५२.२९ प्रतिशत अर्थात १३७ जना ज्येष्ठ नागरिक रहेको पाइएको छ । मृत्यु भएका ज्येष्ठ नागरिकहरूमा दिर्घरोगी धेरै छन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा कोरोनाबाट मृत्यु भएकोमा ६१ वर्षदेखि ७९ वर्ष उमेर समूहका सबैभन्दा धेरै छन् । सो उमेरका ७५ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा ७१ वर्षभन्दा बढि उमेरका ६२ जनाको मृत्यु भएको छ । यो कोरोनाबाट मृत्यु हुने जम्मा संख्याको २३.६६ प्रतिशत हो ।
विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रका कोर्डिनेटर डा. डेनप्रसाद आचार्यका अनुसार अधिकांश जेष्ठ नागरिकमा दीर्घरोग हुने भएकोले उनीहरुको मृत्यु धेरै भएको हो । मधुमेह, दम र मोटोपना भएका कोरोना संक्रमित व्यक्तिहरुलाई बढी जोखिम रहेको उहाँले बताउनुभयो । ‘मधुमेह, दम भएका वृद्धवृद्धालाई कोरोनाले बढी चापेको छ’ डा. आचार्यले भन्नुभयो, ‘त्यसैले यो उमेर समूहका मानिसको मृत्यु संख्या बढी देखिएको हो ।’
प्रदेशमा बयस्क मानिने उमेर ४१ देखि ६० वर्षका ८३ जनाको मृत्यु भएको छ । जुन जम्मा मृत्यु भएकाहरुको ३१.५५ प्रतिशत हो । यो उमेरमा पनि यस्तै ५१ देखि ६० वर्ष उमेर समूहका १९.०८ प्रतिशत अर्थात ५० जनाको मृत्यु भएको छ भने ४१ देखि ५० वर्ष उमेर समूहका १२.५९ प्रतिशत अथार्त ३३ जनाको मृत्यु भएको देखिएको छ ।
सामाजिक विकास मन्त्रालयको कोभिड तथ्याङ्ग शाखाको अभिलेख अनुसार युवा मानिने उमेर २१ देखि ४० वर्ष समूहका ३५ जनाको मृत्यु भएको छ । जुन जम्मा मृतक संख्याको १३.३० प्रतिशत हो । युवाहरुमध्ये पनि ३१ देखि ४० वर्ष उमेरका ९.९२ प्रतिशत अर्थात २६ जनाको मृत्यु भएको छ भने २१ देखि ३० वर्ष उमेर समूहका ९ जनाको मृत्यु भएको मन्त्रालयको कोभिड तथ्यांक शाखाका संयोजक डा. रबिन्द्र निरौलाले जानकारी दिनुभयो ।
प्रदेशमा ११ देखि २० वर्षका ३ जना र १० वर्ष उमेर समूहका ४ जनाको मृत्यु भएको छ । अर्थात बालबालिका र किशोर समूहका ७ जना अर्थात २.६६ प्रतिशतको मृत्यु भएको छ ।
कुन अस्पतालका कतिको मृत्यु ?
प्रदेश १ का ६ वटा अस्पतालमा कोभिडको उपचार हुने गरेको छ । प्रदेशको राजधानी विराटनगरमा दुई वटा मेडिकल कलेजसहित चार वटा अस्पतालमा कोरोना संक्रमतिको उपचार हुन्छ ।
विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्र, न्युरो अस्पतालको न्यूरो कोभिड हस्पिटल, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजले कोभिड अस्पतालमा संक्रमितको उपचार हुने गरेको छ । यस्तै सुनसरीमा धरानस्थित बिपी कोराइला विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्र र झापाको मेची अस्पतालमा संक्रमितको उपचार हुन्छ ।
प्रदेशका संक्रमितको उपचार हुने ठूला ६ कोभिड अस्पतालहरूमध्ये सबैभन्दा बढी धरानको बीपी प्रतिष्ठानमा धेरै संक्रमितको मृत्यु भएको छ । बुधबारसम्म वीपीमा ९७ जना कोरोना संक्रमितको मृत्यु भएको बीपीका प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिनुभयो । प्रतिष्ठानको कोभिड अस्पतालमा हालसम्म १ हजार ७६ जना संक्रमित भर्ना भएकोमा ८ सय ९४ जना निको भएर डिस्चार्ज भएका छन् ।
कोशीकोको भेन्टिलेटरमा पुगेका सबैको मृत्यु
विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा बुधबारसम्म ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोशीको कोभिड अस्पतालको आइसियूमा ७१ जना कोरोना संक्रमित भर्ना गरि उपचार भएको मध्ये १४ जनाको आइसियूमा र २१ जनाको भेन्टिलेटरमा राखेर उपचारको क्रममा मृत्यु भएको कोशी कोभिड उपचार केन्द्रका सूचना अधिकारी आन्नद लामिछानेले जानकारी दिनुभयो ।
चार जना अस्पताल आइपुग्नसाथ मृत्यु भएको छ । ‘कोभिड अस्पतालको भेन्टिलेटरमा पुगेका विरामी गम्भिर अवस्थामा आएका हुन्छन्,’ कोशी कोभिड अस्पतालका कोडिनेटर फिजिसियन डा. डेनप्रसाद आचार्यले भन्नुभयो, ‘सक्दो बचाउने कोशिस गर्दा गर्दै पनि गम्भीर अवस्थामा विरामी बचाउन सकिएको छैन ।’ हालसम्म कोशीको कोभिड अस्पतालको आइसियूबाट ३६ जना डिस्चार्ज भएका छन् । कोशी कोभिडका फिजिसियन डा. आचार्यले होम आइसोलेसनमा बसेर समयमै अस्पताल नआउँदा पनि मृत्यु हुनेको संख्या बढ्दै गएको बताउनुभयो ।
यसैगरि विराटनगर मेडिकल कलेजको कोभिड अस्पतालमा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने न्यूरोको कोभिड अस्पतालमा १५ जना, नोबेल मेडिकल कलेजको कोभिड अस्पतालमा ४१ र मेची अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ को ६ वटा अस्पतालमा बुधबारसम्म २ सय ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ५३ जनाको अस्पताल ल्याउने क्रममा र होम आइसोलेशनमा मृत्यु भएको छ ।