तल्लो जातको भन्दै ससुराको अन्तिम संस्कारमा अबरोध गर्नेविरुद्ध किटानी जाहेरी

विराटनगर । सानो जातको भएकै कारण ससुराको अलग्गै किरिया बस्न बाध्य भइरहेकी मोरङको उर्लावारी नगरपालिका ४ आइतवारेकी ३० वर्षीया कोपिला बर्देवाले आफ्नै श्रीमान, सासु, जेठाजु र जेठानी विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराउनुभएको छ ।

कात्तिक १३ गते ७० वर्षको उमेरमा निधन भएका नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा दलित संघका केन्द्रिय सदस्य भिमलाल गहतराज (विश्वकर्मा) की कान्छी बुहारी कोपिलाले आपूmमाथि जातीय विभेद र छुवाछुत गर्दै काजकिरियामा सहभागी नगराएको भन्दै प्रहरीमा उजुरी दिनुभएको हो ।

दमाई जातको भएकै कारण आफूलाई ससुराको सामूहिक अन्तेष्ठि र पितृसंस्कार कार्य गर्नबाट बञ्चित गराएको भन्दै कोपिलालले आइतबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दर्ता गराउनुभएको छ । ११ दिनदेखि एक्लै ससुराको काजकिरियामा बस्नुभएकी कोपिलाले आफै प्रहरी कार्यालयमा पुगेर श्रीमानसहित ६ जनालाई जातीय विभेद तथा छुवाछुत कसुर गरेको आरोपमा किटानी जाहेरी दर्ता गराउनुभएको हो ।

जाहेरीमा जातीय विभेद र छुवाछुत गर्ने उर्लाबारी ४ आइतवारेका सासु ५५ वर्षीया सुनिता गहतराज, श्रीमान ३६ वर्षीय दिपक गहतराज, जेठाजुहरु दिपक र शम्भु गहतराज, जेठानी ३२ वर्षीया तारा गहतराज र आफन्त झापा विर्तामोडकी २५ वर्षीया शारदा घतानीलाई विपक्षी बनाइएको छ । दिपकसँग १० बर्ष अगाडि विवाह गरेकी कोपिलाको ८ वर्षकी छोरीसमेत रहेकोमा सानो जातको भएको कारण ससुराको काजकिरिया र अन्तेष्ठीमा सहभागी हुन परिवारले रोक लगाएको थियो ।

ससुरको निधनपछि सामूहिक अन्तेष्ठिमा गएकी कोपिलालाई घरपरिवारले अभद्र व्यावहार गर्देै साँस्कृतिक अधिकारबाट बञ्चित गराएको थियो । आफूमाथि भएको अमानवीय कार्यले नेपालको संविधान २०७२, मानव अधिकार, जातीय विभेद तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को गम्भीर उल्घंघन भएकाले श्रीमानसहित सबै दोषीहरुलाई कानूनी कार्वाही हुनुपर्ने जाहेरीमा माग गरिएको छ ।

जातिय विभेद तथा छुवाछुत कसुर ऐन अनुसार नीजि वा सार्वजनिक कुनैपनि स्थानमा कसैले कसैलाई जात, पेशा, बर्णको आधारमा कुनैपनि अधिकारबाट बंचित गराइन पाइदैन । कसुर गर्नेलाई ४ वर्षसम्म कैद सजाय, १ लाख रुपैयाँसम्म जरिवाना सजाय र पीडितलाई बिगो अनुसार क्षतिपुर्तिको व्यावस्था छ ।

सरकारबादी फौजदारी कानून अन्तर्गत रहेको यो कानून अनुसारका आरोपीहरुलाई प्रहरीले थाहापाउनसाथ पक्राउ गरेर अनुसन्धान गरि अदालतमा बुझाउनुपर्छ । भीमलालको मृत्युपछि कागकिरिया गर्न अबरोध भएपछि कान्छा छोराकी कान्छी बुहारी कोपिला एक्लै अलग्गै बसेर काजकिरिया गर्न बाध्य भएकी थिइन् ।

स्वर्गीय भीमराजका जेठा छोरा दिपक गहतराज दलित संघ उर्लाबारी नगर समितिका अध्यक्ष हुन् भने काजकिरियाबाट बञ्चित भएकी कोपिला नगर कोषाध्यक्ष हुन् ।

मङ्गलबार, २५ कार्तिक, २०७७, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर