जिल्ला अस्पतालको परिणाम देखिनुपर्छः मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताउनुभएको छ ।  अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउनेगरि काम गर्नसमेत मन्त्री घिमिरेले निर्देशन दिनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको प्रदेशस्तरीय अस्पतालहरुको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताउनुभयो । उहाँले स्थानीयले सेवा सुलभ भएको अनुभुति गर्नुपर्ने बताउनुभयो ।

चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरुलाई ७ करोडदेखि ३५ करोडसम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको मन्त्री घिमिरेले जानकारी दिनुभयो । पछिल्लो अढाई वर्षमा अस्पतालहरुले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समिक्षा हुन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन पनि निर्देशन दिँदै मन्त्री घिमिरेले स्वास्थ्यकर्मीलाई घर–घरमा गएर बीमा गर्न सुझाव दिनुभयो । मन्त्री घिमिरेले शतप्रतिशत नागरिकको स्वास्थ्य बीमा गर्नुपर्नेमा जोड दिनुभयो । निजी अस्पतालले दिने सेवा भन्दा प्रभावकारी सेवा दिन मन्त्री घिमिरेको आग्रह छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एचडियूसहितको ५ सय वेड विस्तारको तयारी गरिरहेको बताउनुभयो । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौति नगर्ने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बवि चाम्लिङ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहतालगायतले बोल्नुभएको थियो ।

सोमबार, २४ कार्तिक, २०७७, साँझको ०७:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर