विराटनगर। विराटनगरमा उपचाररत थप तीन कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
दुई जनाको सोमबार बिहान र एक जनाको आइतबार राति भएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि शनिबार अस्पताल भर्ना गरिएकी उनको बिहान ६ बजेतिर मृत्यु भएको हो ।
उता झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा बिहान ७ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक ९ गते अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो । उनको आइतबार राति १० बजे मृत्यु भएको हो ।