विराटनगर । विराटनगर महानगरपालिका–१९ मा निर्माणधिन सडकको रिटेनिङ्ग वाल निर्माणमा गुणस्तरहिन काम भएको पाइएको छ । उपभोक्ता समितिमार्फत निर्माण भएको ‘खवासटोल पैनीदेखि पश्चिम विराटनगर–१९ नंं. वडा कार्यालय’ जोड्ने सडकको दुवैतर्फको रिटेनिङ्ग वाल निर्माणमा गुणस्तरहिन काम भएको पाइएको हो ।
विराटनगर महानगरपालिको ३१ लाख ६७ हजार ४ सय १३ रूपैयाँ र उपभोक्ताको ५ लाख ५८ हजार ७९ रुपैयाँ गरि जम्मा ३७ लाख २५ हजार १ सय ९२ रूपैयाँ लागतमा २ सय ९८.५० मिटर सडकको रिटेनिङ्ग वाल निर्माण भइरहेको छ । सो काम गुणस्तरहिन भएको पाइएपछि निर्माण कार्यमा महानगरले नै रोक लगाएको छ ।
महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीसहितको प्राविधिक टोलीले आइतबार गरेको अनुगमनको क्रममा ‘स्टिमेट’ भन्दा बाहिर गएर गुणस्तरहिन काम गरेको पाइएपछि तत्काल निर्माण कार्यमा रोक लगाइएको हो । स्टिमेटभन्दा बाहिर गएर कमसल सामाग्रीहरूको प्रयोग गरेको कारणले निर्माण भएको रिटेनिङ्ग वालको ढलाइ उप्किन थालिसकेको विराटनगर १९ का स्थानिय अन्तरबी खवासले बताउनुभयो । ‘निर्माण पूरा भएको रिटेनिङ्ग वालको ढलाई अहिले उप्किन थालेको छ,’ उहाँले भन्नुभयो, ‘यहाँ स्टिमेटभन्दा बाहिर गएर कमसल सामाग्री प्रयोग गरेर ठूलो चलखेल भएको छ ।’
इन्जिनियरले तयार गरेको स्टिमेटमा ओपीसी सिमेन्टको प्रयोग गरिनुपर्ने उल्लेख छ । तर, त्यहाँ पीपीसी सिमेन्ट प्रयोग गरेको पाइएको छ । ओपीसीभन्दा १ सयदेखि १ सय ५० रुपैयाँ प्रतिबोरा सस्तोमा पीपीसी सिमेन्ट पाइने भएकोले त्यसको प्रयोग भएको हो । उपभोक्ता समिति र विराटनगर १९ का वडाअध्यक्ष बद्रीनारयण सरदारको मिलेमतोमा कमसल सामाग्री प्रयोग गरेको स्थानीयको आरोप छ ।
सस्तो मूल्यको सिमेन्टको प्रयोग र अन्य निर्माण सामाग्रीहरू प्रयोग गरि कम लागतमा काम सकेर अनियमितता गर्ने योजना रहेको स्थानीयको भनाइ छ । अनुगमनको क्रममा स्टिमेटभन्दा बाहिर गएर रिटेनिङ्ग वाल निर्माण भएको पाइएपछि तत्काल निर्माण कार्य रोक लगाएको विराटनगर महानगरपालिकाको शहरी विकास महाशाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेलले बताउनुभयो । ‘रिटेनिङ्ग वालको माथिल्लो ढलाइमा ओपीसी सिमेन्ट प्रयोग गर्नुपर्ने हो । यहाँ त्यो प्रयोग भएको देखिएन,’ उहाँले भन्नुभयो, ‘अनुगमन गर्दा स्टिमेटभन्दा बाहिर गएर काम गरिएको पाइयो ।’ स्टिमेट अनुसार काम गर्न लगाउने उहाँको भनाई छ ।
४० फिटको सडकको दुवैतिर रिटेनिङ्ग वाल निर्माणको गत असार १२ गते सम्झौता भइ आउँदो फागुन मसान्तसम्म निर्माण कार्य पुरा गर्ने उद्देश्य छ । सडकको दुवै साइटको २९८.५० मिटर रिटेनिङ्ग वालको उचाई ८० सेन्टिमिटरको हुनुपर्ने विराटनगर महानगरपालिकका जुनियर इन्जिनियर फागुराम राजवंशीले जानकारी दिनुभयो । उनका अनुसार ८० सेन्टिमिटर उचाइमा ४० सेन्टिमिटरमा १५ इन्चको चौडाइ र ४० इञ्चमा १० इन्चको चौडाइ निर्माण गर्नुपर्ने सम्झौता रहेको छ ।
महानगर उपप्रमुख इन्दिरा कार्कीले स्टिमेट अनुसारको निर्माण सामाग्री अनुगमनको क्रममा नहालेको पाइएकोले कारवाहीको प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । ‘अनुगमनको क्रममा हामीले निर्माण गर्ने उपभोक्ता समितिका अध्यक्षलाई पनि बोलाएका थियौ,’ उहाँले भन्नुभयो, ‘रिटेनिङ्ग वालको निर्माणस्थलमा उहाँ आउनुभएन ।’ सम्झौता अनुसार काम नभए भुक्तानीमा रोक लगाएर कार्वाही प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ छ । गुणस्तरहिन काम गर्नेलाई महानगरपालिकाले कारवाहीको दायरमा ल्याउने भन्दै गुणस्तरीय काम गर्न सबैलाई खवरदारी गर्न उपप्रमुख कार्कीले आग्रह पनि गर्नुभयो ।
विराटनगर १९ का वडाअध्यक्ष बद्रीनारयण सरदारले उपभोक्ता समितलाई गुणस्तरीय काम गर्न आफूले भन्दै आएको बताउनुभयो । आफ्नो वडाभित्रको विकास निर्माणमा गुणस्तरीय काम गराउन आफू लागिपरेकाले कुनैपनि अनियमितता नगरेको उहाँको भनाई छ । उपभोक्ता समितिका अध्यक्ष रीता सरदार भने सम्र्पकमा आउन चाहिनन् ।
रिटेनिङ वाल निर्माण गर्ने उपभोक्ता समितिको अध्यक्ष रीता वडाअध्यक्ष बद्रीनारयणको आफन्त रहेको बुझिएको छ । रीताको अध्यक्षतामा ७ सदस्य उपभोक्ता समिति छ । समितिको सचिबमा नैनाकुमारी सरदार, कोषाध्यक्षमा लिला सरदार र सदस्यहरुमा सुनिल सरदार, कविताकुमारी सरदार, सुकन सरदार श्रीमलि सदरदार रहेका छन् ।