विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा विराटनगरमा थप चारजनाको मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेजमा २, नोबेल मेडिकल कलेजमा एक र म्याक्स अस्पतालमा एकजनाको मृत्यु भएको हो ।
विराटमा मोरङको केराबारीका पुरुष र सुनसरीको धरानकी वृद्धाको मृत्यु भएको छ । अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरुषको आइतबार बिहान १०ः३० बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि कात्तिक ११ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको १२ दिनपछि पुरुषको ज्यान गएको हो । देवका अनुसार मृतकमा निमोनिया, मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।
विराटमै धरान उपमहानगरपालिका–१ की ७२ वर्षीया वृद्धा महिलाको बिहान ८ः३० बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १४ गते वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा निमोनियासँगै फोक्सो, मृगौला र मुटुको पुरानै समस्या थियो ।
विराटनगरकै नोबेल मेडिकल कलेजमा विराटनगर महानगरपालिका–९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना देखिएपछि कात्तिक २० गते अस्पताल भर्ना गरिएका बृद्धको आइतबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।
यसैगरी म्याक्स अस्पतालमा झापाको दमक नगरपालिका–६ का ८३ वर्षीय वृद्ध पुरुषको दिउँसो १ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका अनुसार कोरोना संक्रमणसँगै ज्वरो आउने र श्वासप्रश्वासको समस्या थपिएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।