हे भगवान ! यो नेकपा भन्ने पार्टी नफुटाइदेऊ

 लीलावल्लभ घिमिरे

कालुको बानी राम्रो थिएन । अरुलाई दुःख दिन उसलाई खुब रमाइलो लाग्थ्यो । कालु सधैं बाख्रा चराउन जंगल जान्थयो । जंगलको छेउमा खेत थियो । खेतमा खेतालाहरु काम गरिरहेका थिए । कालुलाई खेताहरुलाई झुट बोलेर दुःख दिन मनलाग्यो । कालु रुखमा चढेर ‘बचाऊ, मेरा सबै बाख्राहरु बाघले खायो’ भन्दै रुन लाग्यो । कालुको चिच्याहट सुनेर खेताहरु दौडेर जंगलतिर आए । सबैले हातमा कोदाला र खन्ती बोकेका थिए । जंगलभित्र पस्दा त कालु रुखमा मजाले बसिरहेको र बाख्राहरु आफ्नै सुरमा चरिरहेका थिए । उनीहरुले कालुलाई सोधे– खै बाघ कहाँ छ ? कालु हाँस्नथाल्यो । सबैलाई कालुको बानी थाहा थियो । यस्ले आज पनि हामीलाई दुःख दियो भन्दै कालुलाई गाली गरेर सबै जना फर्के ।

अर्को दिन पनि कालु बाख्रा चराउन गयो । अघिल्लो दिनकै जस्तो बाघले बाख्रा खाए भनेर चिच्याउन थाल्थो । जोडले रोइरहेको थियो । तर, कसैले पत्याएन । आज चाही साँची नै बाघ आयो भनेर उ चिच्याइरहेको थियो । खेतमा काम गरिरहेका खेतालाहरुले अरुलाई दुःख मात्र दिन मात्र जान्या छ भन्नलागे । अन्त्यमा कालु धेरै कराएकाले खेतालाहरु जंगल जान वाध्य भए । तर, कालु रुखमा हाँसिरहेको थियो । बाख्रा चरिरहेका थिए । सबैले कालुलाई गाली गरेर फर्के ।

अर्को दिन पनि उस्तै भयो । खेतालालाई झुक्याउनु प¥यो भनेर रुखमा चढेर कालु चिच्याउन लागेको थियो । तल साँची नै बाघ देख्यो । जोडले चिच्याउन थाल्यो । तर, खेतालाहरुले सुनेको नसुनै गरे । यो फटाहाले दुःख मात्र दिन्छ भन्दै कोहि गएनन् । बाघले एक–एक गर्दै कालुका सबै बाख्रा खायो । कालुलाई अरुलाई दुःख दिन झुट बोल्दाको गल्ती महसुस त भयो । तर, उसका सबै बाख्रा मरिसकेका थिए ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई अब पार्टी फुट्छ भन्नुभएको समाचार बाहिर आयो । त्यसको भोलिपल्ट फेरि फुट्दैन भन्नुभयो । अहिले आएर फेरि फुटेजस्तै छ नी भन्ने अभिव्यक्ति सञ्चारमाध्यममा पढिरहँदा कालु र बाघ शिर्षकको कथा पढेको याद आयो ।

हुन त हाम्रा प्रधानमन्त्रीलाई उखान र तुक्का भन्न, अरुलाई रुष्ट बनाउन, होच्याउन र खसालेर बोल्न सिकाइरहनु पर्दैन । उहाँको बोली सुन्दा प्रधानमन्त्रीज्यूले यी विषयमा विद्यावारिधि गर्नुभएको जस्तो लाग्छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण देश र जनता नराम्ररी थलिएको बेलामा सरकारको नेतृत्वमा रहेको दल नेकपाभित्रको यो रत्येउलीले उनीहरुलाई नै कुरिकुरी हुनुपर्ने हो । जनताको उपचारसमेत गर्दिन भनेर पन्छेको सरकार अहिले आएर पीसीआरसमेत नगर्ने र पोजेटिभ आएको १४ दिनपछि कोरोनामुक्त भएको प्रमाणपत्र दिने तयारीमा छ । यहाँ कोरोनाले जनताको ज्यान जाँदा कसैलाई चिन्ता छैन, चिन्ता छ त पद र पैसाको मात्र ।

अहिले केका लागि नेकपा फुट्ने भन्ने प्रश्नको उत्तर नेताहरुसँग छैन । कि त ओली र प्रचण्डले भन्न सक्नुपर्छ हिजो हामीलाई विदेशीले नै जुटाएका थिए । आज उनीहरुले नै फुटाउँदैछन् । हैन भने नेकपाभित्र कुन राजतीतिक मुद्दा मिल्न नसकेको हो ? सधै लाइनसंर्घषका कुरा गर्ने कमरेडहरुको लाईन कहाँनिर मिलेन ? त्यो जनताले थाहा पाउनुपर्छ । देशले हिजो कांग्रेस र नेकपा एमाले फुट्दाको नमिठो पीडा भुलेको छैन । फेरि नेकपा फुटेर देशलाई बर्वाद पार्न पाउने अधिकार न त ओलीलाई छ न त प्रचण्डलाई नै ।

पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग गरेको भेटघाटलाई लिएर सुरु भएको किचलोले नेकपामा फेरि उग्ररूप लिएको छ । तर, यस्ता कारण पार्टी विभाजनसम्म पुग्नका लागि प्रर्याप्त हुन सक्दैनन् । साच्चै कालु र बाघको कथामा जस्तै नेकपा फुट्यो भने के हुन्छ ? जनताको के अपेक्षा गरेका थिए होलान ? हरेक पटक फुटको उत्कर्षमा पुग्यौं भनि प्रचारबाजी गरिरहँदा यसको फाइदा कस्लाई पुग्छ ? यी सबै प्रश्नको उत्तर सहज आवश्य पनि छैन ।

आज स्थिर सरकार, दिगो आर्थिक बिकासको जनताको सपनामाथि एकपछि अर्को गर्दै तुसारापात गर्ने काम टाउकेहरुले गरिरहेका छन् । झन्डै डेढ महिना अगाडि ठूलो संकट पार गरेर आएको नेकपामा फेरि उस्तै खालको राजनीतिक संकट पैदा भएको छ । यो विवाद पुनः बैठकपछि दुई अध्यक्षबीचको सहमतिमा टुंगिन्छ वा जनअपेक्षा विपरित नेकपा साच्चै नै फुटतर्फ उन्मुख हुन्छ । दुबै समूहले अब गम्भीर हुने समय आएको छ ।

ओली समुहलाई लागेको होला प्रचण्ड हिजो माओवादी सकिन लागेकोले हामीसँग आएर टाँसिएका हुन् । प्रचण्डलाई लागेको होला नेपाल, खनाल मैसँग छन्, ओलीलाई ठिक लगाइहाल्छु । यदि दुबै जनामा यी र यस्तै तुच्छ विचार छन् भने त्याग्नुको विकल्प छैन । हिजो गिरिजाप्रसाद र शेरबहादुरलाई पनि यस्तै लागेको थियो होला । परिणाम सबैले देखेका छौं । अनि बामदेवको हातलदेखि बाबुराम भट्टराईसम्मको हालत देख्दा पनि यी नेताहरुको चेत किन नखुलेको हो ? यदि यो नेकपा भन्ने पार्टी फुट्यो भने नेपाल बहुदलीय व्यवस्थाप्रतिको हेराइमा आम धारण परिर्वतन हुनसक्छ । साँच्चीकै यो व्यवस्था फावसिद्ध हैन त भन्ने लाईन अघि आउनसक्छ । यो सबैका लागि घातक हो । त्यसैले ओली र प्रचण्ड गम्भीर हुनुको विकल्प छैन । हुन त अन्त्यमा पशुपतिनाथसँग प्रार्थना गर्नुको के विकल्प छ र ? हामीले गर्न सक्ने भनेको प्रार्थना मात्र हो । हे भगवान ! यो नेकपा भन्ने पार्टी नफुटाईदेऊ । तर, थाहा छ ? त्यहाँका मुल पुजारी पनि भारु नै हुन् ।

आइतबार, २३ कार्तिक, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर