समाजमा भनिएजस्तो रैन’छ कोरोना

 वीरेन्द्र केएम

नेपालसहित विश्वभरमा महामारीका रुपमा फैलिएको कोरोना महामारीबाट म पनि अछुतो रहन सकिन । कोरोना त केही होइन, त्यही रुघाखोकी जस्तै त हो नि ! लागिहाल्यो भने बेसारपानी खाने, ठीक भइहाल्छ, कोरोनाबारे अनावश्यक हल्ला फैलाइँदैछ, यो सबै नेताहरुको खेल हो । कमिशन खाने बाटो बनाएका हुन् नेताहरुले ! मेडिकल माफियाहरुले फैलाएको रोग हो !’ भन्नेसम्मको गुञ्जनबाट मसमेत कन्भिन्स थिए । तर, त्यस्तो हैनरहेछ ।

सुरुवाती लकडाउनदेखि काठमाण्डौ उपत्यकामै थुनिएर होला औपचारिक रुपमा आन्तरिक हवाइ सेवा खुलेपछि उपत्यकाबाहिर जान निकै इच्छा थियो । अफिसकै कामको शिशिलामा असोज २१ गते बिराटनगर गएँ, एक हप्ता प्रदेश १ मै बस्ने र सकेसम्म धेरैभन्दा धेरै साथीहरुलाई भेट्ने योजना थियो । भौतिक दुरी र स्वास्थ्य सुरक्षा अपनाउँदै थिएँ । छिन÷छिनमै सेनिटाइजर र तराईको गर्मीले गर्दा साबुनपानीले हातमुख पनि धोइरहन्थे । मैले तातोपानी पिएको देख्दा अरुहरु खिस्सी गर्थे । तर, मलाई भने कोरोनाबाट बच्नु थियो । सकेसम्मको सावधानी अपनाउँदा अपनाउँदै पनि कार्तिक १ गते म संक्रमित भएँ ।

विराटनगर स्थित होटल बिगमा मेरो बसाई थियो । दिनभरी जतातातै घुमेर आएर राति त्यही सुत्थें । मात्र २० किलोमिटर पर सुनसरी स्थित आफ्नै घर भएपनि त्यहाँ गएर बसिन । किनकी घरमा भाईको सानो बच्चाहरु छन्, कस्लाई भेट्छु कतै संक्रमित भएँ भने ति बच्चाहरुलाई अफ्ठ्यारो हुन्छ की भन्ने मनमा थियो । असोज २९ गते एक्कासी थाकेको अनुभव गरेँ, विराटनगरदेखि बिर्तामोड, धरान, भेडेटारसम्मको धपेडीले होला भन्ने भयो । फेरि काठमाडौ बसेको बानी, यताको गर्मी र गाडीको एसीले त्यतिकै पनि ज्वरो त लाग्ने नै हो भन्ने पनि थियो । अन्य दिनको तुलनामा त्यो दिन अझै बढी तनाव भयो । निरन्तर त्यो अवस्था बढ्दै गयो । टाउको दुख्ने, पसिना आउने जस्ता समस्याहरु सृजना भएपछि मलाई कोरोना लाग्यो जस्तो महशुस गरेँ ।

कार्तिक १ गते शनिबार सिधै काठमाण्डौ फर्के, बिहान ९ः३० बजे बुद्ध एयरको फ्लाइटबाट । सधै अस्पताल पुगेँ, स्वाब दिएर घर पुगे । दुवैतिर ढोका भएको, दुवैतिर झ्यालसमेत भएको घरको बैठक कोठामा एकान्तबास काट्नुथियो । श्रीमतीजीले मलाई चाहिने सबै कुराहरु पहिला नै त्यहाँ ब्यवस्थित गरिदिएकी थिइन् । शनिवारको दिन र दशैंको रौनक भएर होला बजारमा चहलपहल निकै देखिन्थ्यो, बिराटनरदेखि काठमाडौंसम्ममा उस्तै चहलपहल थियो । तर, आफूलाई भने शीरमा तनाव थियो, हलुका टाउको दुखिरहेको थियो । खुट्टा गलेको अनुभूति भइरहेको थियो । श्रीमतीजीले साँझ बनाएर दिएको काढा पिएँ, खासै कुनै टेष्ट लागेन ।

स्वाब दिएको दोस्रो दिन बिहान उठ्दा शरीरमा निकै गाह्रो भयो । जसोतसो उठियो । टाउको र जिउको दुखाइ क्रमशः बढ्दैगयो । अगाडी रहेको टिभि, साइडमा रहेको मोवाइल, ल्यापटप खोल्न मन नलाग्ने, खाना तिर त हेर्न पनि मन थिएन । फोन आउँदा पनि इरेटेड हुने, उठाउन मन नलाग्ने । १० बजेपछि अस्पतालबाट फोन आयो, “तपाईको रिर्पोट पोजिटिभ छ, बढी समस्या छ भने अस्पताल भर्ना हुनुहोला, नभए घरमै अराम गर्नुस् ।” मलै कुनै प्रतिक्रिया दिन्थेँ त्यो भन्दा अघि नै फेरि उताबाट अवाज अयो, “तपाँईको मोवाइल एसएमएसमा केहि औषधीको नाम पठाएका छौं, त्यो मगाएर खानुस् है ।” अनि फोन काटियो ।

म्यासेन्जरको फेमेली ग्रुपमा आफू संक्रमित भएको म्यासेज छोडें र मोवाइल साइलेन्ट गरि सुत्ने प्रयास गरें । तर, निन्द्रा लागेन । खाना खानसक्ने अवस्था नै भएन । बेसारपानी समेत काढा, खान सक्छु कि भनेर ग्लासमा लिएँ । निल्न निकै ग्राहो हुने, जसो तसो खाएँ । स्वास्थ्यकर्मीसमेत रहेका मेरा एकजना भाई महेशले केहि औषधीहरु दिए । तर, घट्नुको साटो ज्वरो बढ्दै गयो । आँखाका दानासमेत निकै जोडतोडले दुख्नथाले । आँखा फुटेर फ्याट्टै बाहिर निस्कन्छन् जस्तै भयो । खुट्टा पनि दुखिरेहका थिए । शरीरले निकै थकान महहशुस गरिरहेको थियो । जसोतसो निधाएँछु । त्यो रात जसोतसो बित्यो । भोलिपल्ट ज्वरोले आफ्नै रुप लियो, टेवलेट खाँदा ठिक हुने, एक छिनपछि फेरि आउने । बिहान उठ्दा ६ बज्नै लागेको थियो । झन् धेरै गाह्रो भयो । बेडमा छट्पटाइरहें । केही डाक्टरहरुलाई टेलिफोन गरेर जानकारी गराएँ । प्रायः डाक्टरहरुले श्वास–प्रश्वासमा केही समस्या छ कि भनेर सोधे । तर, मलाई श्वास–प्रश्वासमा त्यस्तो केही समस्या थिएन । समस्या ज्वरो आउने, टाउको दुख्ने र जिउ अत्यधिक दुख्ने थियो । श्वास–प्रश्वासमा समस्या नभएकाले धेरै आत्तिन नपर्ने सल्लाह डाक्टरहरुको थियो । तर, दुखाई यत्ति थियो कि, आफू मर्छु कि भन्नेसम्म सोच्न पुगें ।

घरबेटी अंकललाई फोन गरेर आफू संक्रमित भएको जानकारी गराँए । उहाँले नआत्तिनु है भने सुझाव दिनुभयो । छिमेकी विष्णु अंकलले फोन गरेर केहि आवश्यकता भए भन्नु है, हामी ल्याएर दिन्छौं, केहि पीर नगर्नु भन्ने हौसला दिनुभयो । उहाँले बोजो पठाइदिनुभयो तातोपानीमा त्यसको वाफ लिन । म संक्रमित भएको खबरपछि सुनसरीस्थित मेरो घर र मामाघरका मान्छेहरुसित पनि छिमेकीले घृणात्मक ब्यवहार गर्न थालेछन् । म काठमाडौंमा हुँदा पनि सुनसरीमा भएको त्यस्तो व्यवहारले चिन्ता लाग्यो । यस्तै छ हाम्रो समाज भन्दै चित्त बुझाएँ ।

त्यो दिन दुखाइकैबीच निदाएछु । राति शरीरमा खलखली पसिना आएर ब्युझिएँ । नजिकै रहेको मोबाइल बालें । शरीर पसिनाले भिजेको थियो । घडी हेरेँ । भर्खर २ बजेको रहेछ । टाउको दुखाइ हलुका थियो । एकछिन मोवाइलमा भुलिने प्रयास गरें । तातोपानी, बेसार, गुर्जो, केकेरे, केके आदि सुझावहरुले मोवाइलको म्यासेज बक्स भरिएको थियो । टाउको दुख्ने, पेट दुख्ने, आँखा दुख्ने, कान दुख्ने, घाँटी दुख्ने र ज्वरो लाग्ने÷छुट्ने क्रम लगातार ५ दिनसम्म चलेपछि सुरु भयो, सुख्खा खोकीको क्रम । त्यस्तो खोकी सुरु भएपछि छाती नै फाटिएला र टाउँको उड्ला जस्तो महशुस हुने । यस्तो क्रम लगातार ५ दिन जारी रह्यो, बीचमा के–के दवाईहरु खाए त्यो आफूलाई नै थाह छैन । अहिले कमजोरी बाहेक खासै कुनै समस्या छ जस्तो लाग्दैन । कोरोनालाई जितेको मनबाटै महसुस भइरहेकेको छ ।

संक्रमण भएको १५ औं दिनमा फेरि परीक्षणका लागि दिएको रिपोर्टको नतिजा नेगेटिभ आएको छ । नेगेटिभ आउँदा खुसीले रमाएको छु । तर, ती १४ दिनहरु सम्झदा अझैपनि मनमा तनाव हुन्छ । यहीँबीचमा नेपालीहरुको महान् पर्व विजयादशमी पनि सकियो । संक्रमितका रुपमा एउटा कोठामै सीमित भएर दशैंलाई बिदा गरियो । होम आइसोलेसनमा बस्दा शुभेच्छाका फोनहरु धेरै आए । कतिको उठाइयो, कतिको उठाइएन । प्रधानमन्त्रीको सचिवालय र प्रदेश १ स्थित मुख्यमन्त्रीको सचिवालयले सबैभन्दा बढी चासो लिएको पाएँ । नेपाल पत्रकार महासंघको काठमाण्डौ समिति, उपत्यका समित र केन्द्र समितिको तर्फबाट सदैव सम्पर्कमै ररिह्यो । मन्त्री, पूर्वमन्त्री, सांसदहरु, उद्योगी, व्यवसायी, बैंकर, पत्रकार, अन्य पारिवारिक नातागोता, साथीभाई, आफन्त धेरैले सम्झिए । प्रायः सबैको सुझाव थियो, तातोपानी बेसार खानू, गुर्जोको रस, मह तुलसी, आदुवाको रस, वाफ लिनु र नआत्तिनु ।

कठिन र पिडादायक संघर्षपछि अन्ततः कोरोनालाई जितेको छु । सिधै भन्ने हो भने मेरा लागि एमबिबिएस÷एमडी भन्दा नी ठूला डाक्टर मेरी पत्नी शीला र भाई महेश हुन् । उनीहरुले कुन–कुन दवाई दियो, म कुन–कुन खाँए, त्यो उनीहरुलाई नै थाह छ । तर, उनीहरुको दवाईको परिणाम हो, म संक्रमणमुक्त भएको छु ।
अन्त्ययमा यस्तो रोग अरु कसैलाई नलागोस्, समाजमा भनिए झै कोरोनालाई त्यत्ति धेरै हलुका रुपमा लिनुहुँदैन भन्ने मेरो अनुभवले बुझेको छु । कहिँ जाँदा पनि विशेष सुरक्षा सतर्कता अपनाएकै हो । कहीँकतै आफ्नै कमजोरीले कोरोना लाग्यो भन्ने मलाई लागेको छ । मर्छु कि जस्तै भएर कोरोनालाई जित्दाको खुसी अलि फरक नै हुँदो रहेछ । कोरोना केही पनि होइन नभनौं । सतर्क रहौं, तर नआत्तिऔं ।
(कोराना संक्रमित भएर निको भएका पत्रकार वीरेन्द्र केएम नागरिक टाइम्सका सम्पादक हुन् ।)

आइतबार, २३ कार्तिक, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर