राम्रो कामको प्रचार भएनः गौतम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं प्रेस संगठन नेपालका इन्चार्ज राजेन्द्र गौतमले सञ्चार क्षेत्रलाई गतिशिल बनाउन नेकपाको सरकारले आमसञ्चार नीतिको जगमा सञ्चार क्षेत्रको पक्षमा काम गरेको बताउनुभएको छ ।

प्रेस संगठन मोरङको शपथग्रहण तथा पुरस्कार वितरण समारोहलाई आइतबार विराटनगरमा सम्बोधन गर्दै गौतमले पत्रकारमैत्री कानून बनाउन मिडिया काउन्सिल विधेयक परिमार्जनसहित प्रतिनिधिसभामा पुगेको बताउनुभयो । नेकपाको सरकारले गरेको राम्रा कामहरुको प्रचार हुन नसकेको तर सानातिना कमजोरीलाई मात्र समाचारको रुपमा ल्याइएको दावी गर्दै उहाँले प्रेस संगठनमा आबद्ध पत्रकारहरुले पेशागत मर्यादाभित्र रहेर त्यसलाई प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले व्यवसायिक पत्रकारिता र पार्टीलाई सँगसँगै लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले पेशागत मर्यादालाई ध्यान दिँदै पत्रकारिता गर्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य महेश रेग्मीले पार्टीका सकारात्मक समाचारहरुलाई स्थान नदिइएको गुनासो गर्नुभयो ।

प्रेस संगठन नेपालका केन्द्रीय सह–संयोजक गणेश वस्नेतले प्रेस संगठन देशकै सक्षम र सवल संगठन भएको बताउँदै आगामी नेपाल पत्रकार महासंघको निर्वाचनमा पनि यसको नेतृत्व स्थापित गर्नुपर्ने बताउनुभयो । पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत हुने भएकाले त्यसतर्फ ध्यान दिन निर्देशन दिनुभयो ।

कार्यक्रम संगठनका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, प्रचार विभाग प्रमुख मणि दहाल, संगठनका प्रदेश इन्चार्ज लिलाराज भट्टराई, संयोजक राजन केडी, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईँटेल, प्रेस संगठन मोरङका इन्चार्ज विवेक गौतम, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारी र प्रेस सेन्टरबीच एकता भई बनेको प्रेस संगठनको ३५ सदस्यीय कमिटिले सपथ लिएका छन् । समितिको संयोजक सुदिप कोइराला र सहसंयोजक गोकुल पराजुली रहनुभएको छ ।

पत्रकार बुढाथोकी पुरस्कृत
कार्यक्रममा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार किशोर बुढाथोकीलाई कृष्ण सिग्देल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रमुख अतिथी गौतमले उहाँलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।

हरेक वर्ष संगठनले प्रदान गर्दै आएका पुरस्कारको राशी १० हजार १ सय ११ रुपैयाँ रहेको छ । पत्रकार बुढाथोकी एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा निरन्तर क्रियाशिल हुनुहुन्छ ।

आइतबार, १८ फागुन, २०७६, रातीको ०९:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर