विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । विराटनगरमा २ जना र धरानमा २ जना कोरोना भाइरसको संक्रमितको मृत्यु भएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरान–९ बस्ने ६७ वर्षीया र वडा नं १६ की ८१ वर्षीया महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार मधुमेह र मानसिक समस्या रहेकी धरान–९ की महिलालाई कात्तिक १८ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । कात्तिक १९ गते कोरोना पुष्टि भएकी उनको उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।
यसैगरी धरान–१६ की महिलालाई कात्तिक १९ गते कोरोना पुष्टि भएपछि कात्तिक २० गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापको समस्याबाट पीडित उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा शनिबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । धरानमा कोरोना संक्रमणबाट हालसम्म ६८ जनाको मृत्यु भएको छ भने सुनसरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।
यता विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिला र सुनसरीको दुहबीकी ६८ वर्षीया महिलाको नोबेलमा मृत्यु भएको हो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि झापाकी महिलालाई उपचारका लागि कात्तिक १५ गते नोबेलमा भर्ना गरिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएकी उनको शनिबार बिहान ३ बजेतिर मृत्यु भएको हो ।
त्यस्तै सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा नोबेलमै शुक्रबार राति मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि वृद्धालाई अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा राति ९ बजेतिर मृत्यु भएको हो ।
योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ । जसमा २० जना प्रदेश नं. २ का छन् ।