विराटनगर । सुनसरीको रामधुनी नगरपालिका घर भएकी १८ वर्षीया किशोरीलाई प्रलोभन देखाएर बेच्नको लागि भारत लैजाने गिरोहका नाइकेसहित तीन जना जेल चलान भएका छन् ।
‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दामा पक्राउ परेका तीन जना अभियुक्तहरूलाई मोरङ जिल्ला अदालतका मुख्य न्यायधीश मेदिनीप्रसाद पौडेलको इजालशले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतको आदेशपछि पक्राउ परेका मोरङको लेटाङ्ग नगरपालिका ३ घर भई रामधुनी नगरपालिका ५ झुम्कामा बस्ने २२ वर्षीया मनिका ढकाल र सप्तरीको विष्णुपुर गाउँपालिका ५ का २८ वर्षीय सुमितकुमार मण्डल पुर्पक्षको लागि मोरङ कारागार चलान भएका छन् ।सोही मुद्दाका प्रतिवादी सप्तरीको तिलाढी कौलारी गाउँपालिका १ का नाबालकलाई भने विराटनगरस्थित बाल सुधार गृह पठाइएको छ ।
उनीहरूले सुनसरीको रामधुनी नगरपालिकाका किशोरीलाई प्रलोभन देखाएर भारत बेच्न लैजान लागेको अवस्थामा विराटनर १७ नेपाल र भारतको सिमा नाका इस्लामपुरबाट असोज ४ गते प्रहरी र साना हातहरु नामक संस्थाले उद्धार गरेको थियो । सोही क्रममा पक्राउ परेकामध्ये गिरोहका मुख्य नाईके सुमित रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बेचिनबाट जोगाएर साना सातहरु नामक संस्थाको सम्पर्कमा आएकी किशोरीलाई भारतमा बली दिन लगिएको आशंका गरिएको थियो ।
किशोरीलाई भारत पु¥याएबापत १२ लाख रुपैयाँ पाउने भएकोले लगेको पक्राउ परेका गिरोहका मुख्य नाईके सुमितले बयानको क्रममा बताएका छन् । किशोरीलाई पूजाको लागि जाने भनेर उचाइ नाप्ने, महिनावरी भए नभएको सोधिखोजी गर्ने तथा शरिरमा कुनै दाग नभएको हेर्ने काम भएकोले उनलाई बली दिनको लागि लगेको हुनसक्ने आशंका गरिएको थियो ।
सुमित र उनका भिनाजुबीच किशोरी उपलब्ध गराउने विषयलाई लिएर १२ लाख रुपैयाँको ‘डिल’ भएको खुलेको छ । किशोरी भारत पु¥याइदिए १२ लाख रुपैयाँ भिनाजु र उनका भाइले सुमितलाई उपलब्ध गराउने सर्त रहेको थियो । त्यो पैसा ३ जनाले ४÷४ लाख लिने सहमति गरेका थिए ।
किशोरीलाई भारतसम्म पु¥याउने योजना पक्राउ परेका सुमितले मनिकाको सहयोगमा बनाएको अनुसन्धानबाट खुलको छ । सुमित र मनिकाको २ वर्ष अगाडि फेसबुकमार्फत चिनजान भएको थियो । मनिका ती किशोरीको घरनजिक तरकारी पसल सञ्चालन गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार कक्षा १० मा अध्ययन गर्ने किशोरीको घरमा मनिकाको आउजाउ रहेको थियो । उनले किशोरीको आमा र बावुलाई मामामाइजु भनेर सम्बोधन गर्थिन् । मनिकाले ती किशोरीलाई विराटनगरमा पूजा रहेको र पूजामा एक जना कन्या खोजिएकोले जान भनेकी थिइन् । पूजामा टिका लगाएर दक्षिणा ५ हजार रुपैयाँसहित नयाँ मोवाइल दिने भनेपछि मोनिका उनीसँग आएको खुलेको छ ।
यस्तो थियो घटना
मनिकाले किशोरी तयार भएको सुनाएपछि सुमितले उचाइ ५ फुटभन्दा माथि र शरिरमा कुनै दाग नभएको हुनुपर्ने बताएका थिए । त्यसपछि मनिकाले किशोरीको उचाई नाप्ने योजना बनाएर असोज १ गते उनलाई झुम्का बजार लिएर गएकी थिइन् । त्यहाँको एक हार्डवेयर पसलमा ९० रुपैयाँमा इन्ची टेप खरिद गरेर उनले किशोरीको हाइट नापेपछि ती किशारीलाई विराटनगर ल्याउने योजना बनेको थियो ।
युवतीलाई पूजामा बस्दा कालो लुगा लगाउनुपर्ने र कालो लुगाले छोप्दा डराउन नहुने भन्दै मनिकाले सम्झाएकी थिइन् । पूजामा आफूसँगै हुने बताएपछि ५ हजार पाउने आशमा उनले सहमति जनाइन् । तर, विराटनगरबाट भारततर्फ पुगेको उनले पत्तो पाइनन् । बोर्डर कटाएपछि उनलाई एउटा गाडीमा हालेर लगिएको थियो ।
फारबिसगञ्ज पुुगेपछि मात्र उनले आफू बेचिन लागेको थाहा पाएकी थिइन् । ‘विराटनगरमा पूजा भनेर ल्याएकोमा भारत प्रवेश गरेपछि म निकै डराएर रुन थाले र म चढेको गाडीबाट हाम फालेर नेपालतर्फ आएँ’ ती किशोरीलाई बयानको क्रममा बताएकी छन् । जोगवनी हुँदै लगिएपछि किशोरीले आफू गाडीबाट हामफालेर भागेको प्रहरीलाई बताएकी छन् ।
‘मलाई भारत पु¥याएको थाहा पाएपछि गाडीबाट हामफालेर भागें,’ उनले बयानमा भनेकी छन, ‘चिच्याउन र कराउन थालेपछि नडराउन आग्रह गर्दै उनीहरु पनि मलाई पछ्याउँदै आए ।’ त्यसक्रममा उनीहरु पक्राउ परेका हुन् । बाटोमा लैजाने क्रममा युवाले शंकास्पद तवरबाट अरुसँग फोनमा कुरा गरेको थाहा पाएपछि भागेको किशोरीले बताएकी छन् ।
प्रहरीका अनुसार सुमितका भिनाजु रन्द्धीर मण्डल भारतको सहरसा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी ठेक्कापट्टाको काम गर्ने गरेको खुलेको छ । भिनाजु र उनका भाई वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत लगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।