विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका गरिब तथा विपन्न वर्गका नागरिकका लागी निमार्ण गरिएको आवास शुक्रबार उनीहरुलाई हस्तान्तरण गरिएको छ ।
सरकारको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत पक्की संरचनासहित निमार्ण गरिएको ३ कोठे आवास शुक्रबार एक कार्यक्रमकाबिच उनीहरुलाई हस्तान्तरण गरिएको हो । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उनीहरुलाई आवास हस्तान्तरण गर्नुभएको हो । लामो समयदेखि सुनसरी मोरङ सिँचाई आयोजना अन्तर्गतको नहरको छेउको ऐलानी जग्गामा जीवन द्यान्न बाध्य रहेका उनीहरु अहिले ३ कोठे सुरक्षित पक्की संरचनासहितको आवास पाउँदा दङ्ग परेका छन् ।
आर्थिक अवस्था कमजोर भएर घर बनाउन नसकी अस्थायी संरचनामा कष्टकर जीवन गुजार्दै आएकी ग्रामथान–७ की प्रमिला चौधरीले अब गर्मीमा मछेट, वर्षायाममा पानी चुहेर हिलाम्मे र जाडोयाममा चिसो सिरेटो खानु नपर्ने भन्दै खुसी व्यक्त गर्नुभयो । ‘अस्थायी टहरमा धरै कष्टकर तरिकाले जीवनयापन गर्नु परेको थियो,’ उहाँले भन्नुभयो, ‘आवास पाएसँगै बर्षायाममा हुने डुबान र जाडोयाममा हुने शीतलहरको समस्याबाट पनि छुटकार पाएको छु ।’
संघीय सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा तराई मधेश समृद्धि कार्यक्रम, स्थानीय पुर्वाधार विकास कार्यक्रम र ग्रामथान गाउँपालिकाबाटको कुल ३ करोड ४ लाख ४१ हजार ३४ रुँपैयाको लागतमा गरिब तथा विपन्न वर्गका नागरिकका उक्त आवास निमार्ण गरिएको हो । उक्त एकीकृत नमुना बस्तीमा अहिले जम्मा ३६ मध्ये ३४ वटा ३ कोठे पक्की संरचनासहितका आवासहरु निमार्ण भएर हस्तान्तरण भईसकेका छन् । थप २ वटा आवासहरुको निमार्ण सम्पन्न गरि छिट्टै सम्बन्धितलाई हस्तान्तरण गरिने सांसद अमनलाल मोदीले बताउनुभयो ।
तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत ६७ लाख ९ हजार १ सय ९६, स्थानिय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १ करोड १९ लाख ८६ हजार ९५ र ग्रामथान गाउँपालिको १ करोड १७ लाख ४५ हजार ७ सय ७३ रूपैयाँको लागतमा ग्रामथानका गरिब तथा विपन्नहरुका लागी आवास निर्माण गरिएको जनाईएको छ ।
कार्यक्रममा बोल्नुहुँदै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले, प्रदेश सरकारले पनि आवास विहिन नागरिकहरुका लागी सुरक्षित आवास सुनिश्चित गर्न चाहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको यही कार्यकालभित्र सुकुम्बासी तथा भुमिहीन नागरिकहरुलाई भुमि र त्यसको प्रमाणपुर्जा उपलब्ध गराउने तयारी समेत भईरहेकोे जानकारी दिनुभयो ।
सोही अवसरमा बोल्नुहुँदै प्रदेश नंं १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङबोले वर्तमान सरकारले जनताप्रति उत्तरदायी र समाजवाद उन्मुख भएर काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, आवास र सिँचाई जस्ता सम्पुर्ण क्षेत्रहरुमा प्रदेश सरकारले प्रमुख प्राथमिकताका साथ काम गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले भौतिक पुर्वाधार मात्र नभई जनताको आर्थिक जीवनस्तर माथि उकास्ने र उनीहरुलाई स्वरोजगार बनाउने पक्षमा पनि आफ्ना योजनाहरु केन्द्रित गरेको छ ।’
कार्यक्रममा भने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, संघीय सांसद अमनलाल मोदी र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास लगायतको उपस्थिति रहेको थियो ।